इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बईले इन्डियन्सले पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गर्दै मुम्बईले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

मुम्बईको घरेलु मैदान वानखडे रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गरेको कोलकाता १६.२ ओभरमा ११६ रनमा समेटिएको थियो । कोलकाताको लागि आङकृष रधुवंशीले २६ रन बनाए भने रमन्दीप सिंहले २२ रन जोडे । यस्तै मनिष पाण्डेले १९, रिङ्कु सिंहले १७ र अजिन्क्या रहानेले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मुम्बईको लागि आश्वनी कुमारले चार विकेट लिए भने दिपक चहारले दुई विकेट लिंदा ट्रेन्ट बोल्ट,हार्दिक पाण्डेय, भिगनेश पुथुर र मिचेल सानटरको भागमा समान एक-एक विकेट रह्यो । कोलकाताले प्रस्तुत गरेको ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको लागि रायन रिकेल्टनले ४१ बलमा चार चौका र पाँच छक्कासहित अविजित ६२ रनको अर्धशतकीय पारी खेले भने सुर्यकुमार यादवले २७ रन बनाए । यस्तै विल ज्याक्सले १६ र रोहित शर्माले १३ रन जोडे । कोलकाताको लागि आन्द्रे रसेलले दुई विकेट लिए । जितसंगै मुम्बई तीन खेलमा दुई अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लियो भने समान खेलबाट दुई अंक जोडेको कोलकाता पुछारमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज लखनउ सुपर जाइन्ट्स र पन्जाब किंग्स राति ७:४५ बजे भिड्दै छन् ।
प्रतिक्रिया राख्नुहोस्