अर्थ

अमेरिकी सफ्टवेयर कम्पनीद्वारा दश अर्ब राजश्व छली

अमेरिकी लगानीको सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिले पाँच अर्ब रुपैयाँभन्दा बढीको करछली गरेको भन्दै राजश्व अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो कम्पनीले ठूलो मात्रामा राजश्व छली गरेपछि नेपालबाट कम्पनी नै खारेजीको प्रक्रियामा रहेका बेला विभागले सो कम्पनीको खारेजी प्रक्रिया रोक्न सोमबार कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन समेत दिएको थियो ।

विभागले कोटिभिटी नेपाल प्रालिले पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार कर छलली गरेको आरोपसहित बिगो र त्यति नै परिमाणमा जरिवाना मागसहित गर्दै १० अर्ब ३६ करोड ४५ लाख २२ हजार रुपैयाँको मुद्दा दायर भएको हो ।

आइतवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले दायर गरेको यो हालसम्मकै ठूलो राजस्व छलीको मुद्दा हो ।

उक्त मुद्दामा कोटिभिटीले वस्तु निर्यातबापत तिर्नुपर्ने चार अर्ब ७६ करोड ५८ लाख ४३ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) र स्वामित्व परिवर्तन हुँदा तिर्नुपर्ने ४१ करोड ६४ लाख १७ हजार रुपैयाँ पूँजीगत लाभकर छली गरेको दाबी गरिएको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार कोटिभिटीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को (क), (ग), (च) र (झ) बमोजिमको कसूर गरेको पुष्टि भएकोले सोही ऐनको दफा २ (छ) (१) बमोजिम मुद्दा दायर गरिएको हो ।

कोटीभिटी नेपाल प्रालि नेपालमा दर्ता रहेको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । यसको साविकको नाम भेरिस्क इन्फरमेसन टेक्नोलोजी प्रालि हो । ​

भेरिस्कबाट भर्सेन्ड टेक्नोलोजी प्रालि कायम गर्न कम्पनी रजिष्ट्रारले ८ भदौ २०७३ मा स्वीकृति दिएको थियो । त्यस्तै, कम्पनीले ८ पुस २०७५ मा भर्सेन्डबाट नाम परिवर्तन गरी कोटिभिटी नेपाल प्रालिका रूपमा कारोबार गर्दै आएको थियो ।

आइतबार राजश्व छलीको मुद्दा दायर भएपछि विभागले दर्ता खारेजीको प्रक्रिया रोक्न निवेदन नदिएको हो । कोटीभिटीले राजश्व छलीपछि अर्को कम्पनी खडा गरेर खारेजीको प्रक्रियामा जान निवेदन दिएको खुलेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.