छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
पर्वत, कपिलवस्तु, रुकुम पश्चिम र सिन्धुलीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पर्वत, जलजला गाउँपालिका-५ गैरीगाउँस्थित सडकमा गिदेश्वरबाट गैरीगाउँतर्फ आउँदै गरेको ग.१ त २२६० नम्बरको ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १५ वर्षीय रोशन परियारको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । त्यस्तै कपिलवस्तु, महाराजगंज नगरपालिका-३ जमुनीस्थित सडकमा तौलिहवाबाट बहादुरगंजतर्फ जाँदै गरेको युपि ५५ डब्लु १८५७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय बाथु पालको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै रूकुम पश्चिम, आठबिसकोट नगरपालिका-९ गिजास्थित सडकमा रा.१ त ३८९१ नम्बरको ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा चालक त्रिबेणी गाउँपालिका-५ बस्ने २० वर्षीय नबिन परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल आठबिसकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता सिन्धुली, कमलामाई नगरपालिका-९ कोरूङखोलास्थित सडकमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको ना.८ ख ५८६२ नम्बरको ट्रकमा प्र.२-०२-००५ प २०७१ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० सरकारीटोल बस्ने ३४ वर्षीय जीवन लाल दमाईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्