बिचार

समाजको ऐना पत्रकारका पीडा र वास्तविकता

पत्रकारिता पेसा नाम मात्रै ठूलो, गरिमा देख्दा लोभलाग्दो, तर भित्री कथा सुन्दा रुँदै निदाउनुपर्ने, बाहिरबाट हेर्दा आकर्षक, समाज परिवर्तनको संवाहक देखिने यो पेसा भित्र पस्दा मात्र वास्तविकता थाहा हुन्छ।

समाजका ठूलाबडाका गफ सुन्ने, नीतिनिर्माताको निर्णयको समीक्षा गर्ने, सडकदेखि संसदसम्म आवाज उठाउने, तर आफ्नै आवाज सुनाउने कोही नभएको जीवन हो पत्रकारको।

बिहान घाम झुल्किनु अघि नै काम सुरु हुने, रात परेपछि मात्र घर फर्किने। न घरको मेलो, न आरामको समय एक समाचार सकिएर दोस्रो सुरु गर्नुअघि सास फेर्न पनि मुस्किल पर्ने।

पत्रकारको दिनचर्या अजब गजबको हुन्छ। बिहान उठ्नेबित्तिकै फोन घनघनाउँछ। ‘आजको मुख्य खबर के होला?’ यो प्रश्नको उत्तर खोज्नैपर्छ। इन्टरनेट खोतल्नुपर्छ, स्रोतसँग कुरा गर्नुपर्छ, सडकमा निस्किनुपर्छ। प्रेस कन्फरेन्समा जानुपर्छ, आन्दोलनको भिडमा हराउनुपर्छ।

हिजो सरकारको बचाउ गर्‍यो भने आज विरोधमा बोल्नुपर्छ। निष्पक्षताको धागोमा हिंड्नुपर्छ। कोही रिसाउँछन्, कोही धम्क्याउँछन्। कहिलेकाहीँ आफ्नै सहकर्मीले गाली गर्छन्, ‘तँ सत्ताको दलाल भएछस !’

पत्रकारले धेरैका आवाज उठाउँछ, तर उसको आफ्नै आवाज सुनिँदैन। न त उसको सुरक्षाको ग्यारेन्टी हुन्छ, न त जीवन बीमाको कुनै आश्वासन। ‘बीमा’ भन्नू कुन चरीको नाम हो, थाहा छैन।

‘सुरक्षा’ शब्द त केवल सरकारी नारा जस्तो लाग्छ। घर परिवारको भविष्यको योजना बनाउँदा पनि अलमलिन्छ, किनभने स्थायित्व भन्ने चिज उसको पेसामा बिरलै भेटिन्छ।

खोज पत्रकारिता गर्नेले सधैं जोखिम उठाउनुपर्छ। शक्तिशाली अपराधीहरू, भ्रष्ट अधिकारीहरू, माफियाहरूको पोल खोल्ने हिम्मत गर्दा ऊ आफैं खतरा मोलेर हिंड्नुपर्छ। कहिले धम्की आउँछ, कहिले अनौठो दुर्घटना हुन्छ। कतिपय पत्रकार त हराएरै जान्छन् ।

आर्थिक अवस्था झन् बेहाल। नाम चलेका केही बाहेक धेरै पत्रकारको तलब सामान्य कर्मचारीको जतिकै हुन्छ। कहिले समयमै तलब आउँछ, कहिले आउँदैन। प्रेस कार्ड देखाएर चियाको चुस्की पिउने होटलकै साहुजीले पनि पैसा तिर्न दबाब दिन्छ।

दैनिक खर्चको हिसाब गर्न नसक्ने अवस्थामा पुग्छ कतिपय पत्रकार। दिनभरि भोकभोकै हिँडेर रिपोर्टिङ गर्ने, राति फर्केर चाउचाउको झोल खाएर निदाउने अवस्था। महिनाको अन्त्यमा दुई पैसा बचत होला भनेर दूध तताउने प्रयास गर्छ, तर बैंक खाताले कहिल्यै साथ दिँदैन।

यो पेसामा बस्नेहरूले उत्साहका साथ काम गर्छन्। समाज परिवर्तनको सपना देख्छन्। जनताका मुद्दा उठाउँछन्। सरकारलाई कठघरामा उभ्याउँछन्। तर जब आफ्नो व्यक्तिगत जीवन हेर्छन्, लाग्छ—’बसन्त ऋतु त हेर्नकै लागि मात्रै रहेछ!’

हिजो र आजको पत्रकारिता

हिजोको पत्रकारिता छापा माध्यममा आधारित थियो। अखबार, रेडियो, टेलिभिजन जस्ता पारम्परिक संचार माध्यमहरू नै सूचनाको प्रमुख स्रोत थिए।

खोज पत्रकारिता प्रबल थियो, समाचार तयार पार्न समय लाग्थ्यो, सत्यतथ्य पुष्टि गर्न गहिराइमा अध्ययन गरिन्थ्यो। समाचार लेख्दा नैतिकता, वस्तुनिष्ठता र तथ्यपरकता अत्यावश्यक मानिन्थ्यो ।आजको पत्रकारिता डिजिटल युगमा प्रवेश गरेको छ।

समाचारको गति तीव्र भएको छ, तर सत्यता कहिलेकाहीँ गुम्ने खतरा पनि बढेको छ। अनलाइन पोर्टल, सामाजिक सञ्जाल र युट्युब च्यानलहरूले पत्रकारिताको रूप बदलिदिएको छ।

तत्काल प्रतिक्रिया दिने दबाबका कारण तथ्य जाँच्न नपुग्ने समस्या देखिन्छ। पत्रकार मात्र होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताहरू नै समाचार स्रोत बन्न पुगेका छन्।

हिजो पत्रकारिता निष्पक्षताको नजिक थियो, तर आज व्यापारमुखी बनेको छ। विज्ञापनदाताको प्रभाव बढ्दै गएको छ, सम्पादकीय स्वतन्त्रता संकुचित भइरहेको छ। कतिपय सञ्चार माध्यमहरू निश्चित राजनीतिक गुट वा व्यावसायिक समूहको स्वार्थ अनुरूप सञ्चालन भइरहेका छन्।

तर, प्रविधिले पत्रकारितालाई सहज पनि बनाएको छ। सूचना तत्काल फैलाउन सकिन्छ, दूरदराजका घटनाहरू पनि छिट्टै सार्वजनिक गर्न सकिन्छ । नागरिक पत्रकारिता फस्टाएको छ।

हिजोको भन्दा आजको पत्रकारिता चुनौतीपूर्ण छ, तर अवसर पनि उत्तिकै छ। पत्रकारहरूले सत्यता, विश्वसनीयता, र निष्ठालाई कायम राखे मात्र पत्रकारिताको गरिमा जोगिन सक्छ।

अबको बाटो

अबको पत्रकारिता गुणस्तरीय, सत्यपरक र जनउत्तरदायी हुनुपर्छ। पत्रकारहरूले सत्यतथ्य पुष्टि गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्छ। ‘छिटो भन्दा सही’ भन्ने मानसिकता विकास गर्नुपर्छ। खोज पत्रकारितालाई प्रविधिसँग मिलाएर अझ प्रभावकारी बनाउन आवश्यक छ।

स्वतन्त्र पत्रकारिता जोगाउन सम्पादकीय स्वतन्त्रता कायम राख्नुपर्ने हुन्छ। सञ्चार माध्यमहरू आर्थिक रूपमा आत्मनिर्भर हुन सक्ने संरचना तयार पार्नुपर्छ, जसले गर्दा विज्ञापनदाताको प्रभाव कम होस्।

नागरिक पत्रकारिताको विस्तारलाई सही ढंगले परिचालित गर्नुपर्छ। कुनै पनि समाचार सामाजिक सञ्जालमा छरिनुअघि त्यसको सत्यता जाँच गर्ने संस्कार विकास गर्नुपर्छ ।

पत्रकारहरूको पेशागत सुरक्षाको व्यवस्था राज्य र सञ्चार संस्थाले गर्नुपर्छ। जीवन बीमा, स्वास्थ्य बीमा जस्ता सुविधाहरू उपलब्ध गराइने वातावरण बनाउन जरुरी छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, पत्रकारिताले निष्पक्षता, सत्यता, र समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्छ। पत्रकारिता व्यापार मात्र होइन, समाज सेवा पनि हो भन्ने दृष्टिकोण राख्नुपर्छ। यति मात्र गर्न सकियो भने पत्रकारिताले आफ्नो गौरवशाली इतिहासलाई निरन्तरता दिँदै, भविष्यमा अझ प्रभावकारी भूमिका खेल्न सक्छ।

(लेखक अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.