जन सरोकार

नेपालमा रेलको इतिहास यस्तो छ

हिजो २०७८ चैत्र १९ गते भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकसाथ हरियो झण्डा उठाएर उद्घाटन गरेपछि जनकपुर-जयनगर रेल सुचारु भयो ।

उद्घाटन नहुँदा विगत तीन वर्षदेखि पटकपटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना पनि बल्ल पुरा भएको छ ।

नेपालमा रेलको इतिहास भने लामै छ । विसं १९८४ (ई.१९२७) मा चन्द्र शमशेरको शासनकालमा स्थापित नेपाल गभर्मेन्ट रेलवे नेपालको पहिलो रेल्वे सेवा हो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेल्वे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो ।

उक्त समयमा तराईका यस भेकका मानिसले अमलेखगञ्जबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्न पैदल यात्रा गर्थे । उक्त रेलसेवा विसं २०२२ मा बन्द भयो ।

नेपालमा पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि अर्थात् विसं १९९४ सालमा दोस्रो रेलका रूपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भयो । दुवै रेल स्टिम (कोइलाबाट चल्ने) इन्जिनले सञ्चालन भइरहेको थियो ।

जयनगर–जनकपुर–बिजलपुरा रेल्वे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो । उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा (बोगी) पनि बनाइएको थियो । यस क्षेत्रका जङ्गल मासिएपछि सोही रेल यात्रुवाहकरूपमा सञ्चालन हुनथाल्यो । सुरुमा कोइलाबाट चल्ने उक्त रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो ।

आठ वर्ष अघिसम्म धनुषाको पूर्वीदक्षिणी भेगलाई भारतीय बजार जयनगरसँग जोड्न र जिल्लाको पूर्वीक्षेत्रलाई धनुषाको सदरमुकाम जनकपुरसँग जोड्न एकमात्र भरपर्दो साधनका रूपमा उक्त रेलसेवा सञ्चालन भइरहेको थियो ।

तर २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर)मा सीमित हुन पुग्यो । नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौताअनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भयो ।

अहिले रेलमार्ग सुधार गरी जाने नेपाल र भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो । नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भएको थियो ।

आठ वर्ष २ महिनापछि विधिवत रूपमा रेल सञ्चालन भएको आफ्नै आँखाले हेर्न शनिबार हजारौं सर्वसाधारण बिहानैदेखि जनकपुर रेल्वे स्टेशनमा भेला भएका थिए । प्रचण्ड गर्मीका बावजुद स्कुले छात्र–छात्रा घण्टौं लाइनमा उभिएर पाहुनाको स्वागत गर्न रेल्वे स्टेशनमा आएका थिए । सर्वसाधारणको भीड व्यवस्थापन गर्न जनपद र सशस्त्र प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

उद्घाटन भएसँगै आजदेखि नियमित रेल सेवा सञ्चालन भएको छ । दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

आइतबारदेखि नै तालिका अनुसार नियमित रेल सञ्चालन भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो । झाका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने उहाँले जानकारी दिनुभयो ।

यसरी दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि छुट्ने रेल बिहान १० बजे कुर्था स्टेशन पुग्नेछ भने पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताउनुभयो ।

जयनगर पुगेको रेल पुनःदिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.