राजनीति

पक्राउ परेका माओवादी पूर्व लडाकु खामलाई चितवन लगिंदै

२०६५ सालमा काठमाडौं कोटेश्वरका व्यवससायी रामहरि श्रेष्ठको अपहरण गरी हत्या गरेको अभियोगमा पक्राउ परेका माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर कालीबहादुर खामलाई चितवन लगिने भएको छ ।

माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य समेत रहेका खामसहितको टोलीले श्रेष्ठलाई कोटेश्वरबाट अपहरण गरेर लडाकु शिविर पुर्याइएको थियो । त्यहाँ चरम यातना दिँदा उनको २०६५ वैशाख २८ मा मृत्यु भएको थियो । श्रेष्ठको शव त्रिशूली नदी किनारमा भेटिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले खामलाई मंगलबार राति नै चितवन पठाइने जानकारी दिंदै खामलाई जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालत चितवनमा पेश जानकारी दिनुभयो ।

माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुखसमेत रहेका खामलाई अदालत बुझाइएपछि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ ।

व्यापारी श्रेष्ठको अपहरण पछि हत्या अभियोगमा १५ बर्षदेखि फरार खामविरुद्ध काठमाडौंमा हातहतियार तथा खरखजना र यार्सागुम्बा लुटपाट सम्बन्धी मुद्दा पनि छ ।

२०६५ वैशाख १५ गते कोटेश्वरका ब्यापारी श्रेष्ठलाई घरबाटै कब्जामा लिएर खाम, गोविन्दबहादुर बटला लगायतका माओवादी लडाकुहरुले चितवनको शक्तिखोरस्थित तत्कालिन माओवादी लडाकुको तेस्रो डिभिजनमा ल्याएका थिए ।

माओवादी निकट रहेर माओवादीका नेताहरुलाई घरमा नै खाना खुवाउनेसम्मको पहुँच बनाएका श्रेष्ठलाई उनको घरमा रहेको माओवादी लडाकुको तेस्रो डिभिजनको सम्पर्क कार्यालयबाट २०६४ चैत १४ गते नगद १७ लाख र हतियार चोरी गरेको आरोप खाम लगायतले लगाएका थिए ।

हत्यामा संलग्न खाम बाहेक गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलाई माओवादी लडाकुको तेस्रो डिभिजनले प्रहरीमा बुझाए पनि खाम भने माओवादी नेतासँगको पहुँचका कारणले उन्मुक्ति पाउँदै आएका थिए ।

यही मुद्दामा गोविन्दबहादुर बटालालाई जिल्ला अदालत चितवन र तत्कालिन पुनरावेदन अदालत हेटौंडाले दोषी ठहर गरे पनि सर्वोच्च अदालतले सफाइ दिएको थियो । श्रेष्ठको हत्यामा बटलासहित, कालीबहादुर खाम, केशवबहादुर अधिकारी, गंगाराम थापा, अर्जुन कार्की प्रत्यक्ष संलग्न रहेको अभियोग थियो ।

खाम, अधिकारी र थापा तीन जना फरार रहेकाले उनीहरुको सम्पत्ति रोक्का गरेर जिल्ला अदालत चितवनले मुद्दा मुल्तबीमा राखेको थियो । कार्कीलाई भने २० रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो ।

श्रेष्ठकी श्रीमती रमिलाले खाम लगायतका माओवादी लडाकु विरुद्ध २०६५ जेठ ८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.