जन सरोकार

सिक्किममा हिमपहिरो : तीन नेपालीको मृत्यु

सिक्किममा हिमपहिरोमा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । मंगलबार गएको हिमपहिरोमा परी मृत्यु भएका सातमध्ये तीन नेपाली हुन् ।

गान्तोकबाट नाथुला पास जाने जवाहरलाल नेहरु राजमार्गको छाङ्गुमा मध्याह्न सवा १२ बजे गएको हिमपहिरोमा परी घाइते भएका १३ जनामध्ये तीनजना नेपाली नागरिक रहेको जनाइएको छ ।

गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार ज्यान गुमाउनेमा नेपालको चितवन जिल्लाका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रुपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरी, उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बंगालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिए छन।

त्यसैगरी, हिमपहिरोमा परी घाइते भएका १३ जनामध्ये सातजनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार चलिरहेको छ ।

घाइतेमध्ये नेपालका ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनालसहित सिलिगुडीका पपल सरकार र रञ्जिता दास र कोलकाताका सुभ्र ज्योतीको अस्पतालमा उपचार चलिरहेको छ ।

दिल्लीका पर्व गोयल र नेहाल गोयल, लखनउका निरज शर्मा, कोलकाताकी पुतुल सिंह र कोलकाताकै राकेश सिंह, सुमित दास, तथागत रोय चौधरी सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । गान्तोकका जिल्ला कलेक्टर तुषार जी निखारेले घटनामा तीनजना नेपाली नागरिकसहित सात जनाको ज्यान गएको बताउनु भयो ।

हिमपहिरोमा ज्यान गुमाएकाको शवलाई उनीहरुको घरसम्म राज्य सरकारले पुर्‍याउने निर्णय गरेको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले मङ्गलबार साँझ एसटीएनएम अस्पतालमा घाइतेहरुसँग भेट गरी उनिहरुको सबै उपचार खर्च राज्य सरकारले वहन गर्ने र मृतकहरुको शव पनि राज्य सरकारले उनीहरुको घरसम्म पुर्‍याउने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.