राजनीति

रवि लामिछाने रुपन्देही कारागार चलान

सहकारी ठगी आरोपमा जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न दिएको आदेश उच्च अदालत तुलसीपुरले उल्ट्याइदिएपछि पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार रुपन्देही जिल्ला कारगार पठाइएको छ ।

उच्च अदालतले थुनामा राख्ने आदेश दिएलगत्तै शुक्रबार राति काठमाडौंस्थित आफ्नै निवास काठमाडौंबाट पक्राउ पर्नुभएका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

शनिबार र आइतार विदाका कराण दुई दिन प्रहरी हिरासतमा बिताउनुभएका लामिछानेलाई सोमबार जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार पुर्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले अब अदालतको फैसला नआउन्जेल लामिछाने सोही कारगारमा रहने बताउनुभयो ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उहाँलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उहाँलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिनुभएको थियो ।

उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.