राजनीति

शिक्षकलाई माओवादीले उकासेको शंकर पोखरेलको आरोप

देशभरका शिक्षकहरुले आज चैत्र २५ गते सोमबारबाट विद्यालय बन्द गरेर शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा होमिन आव्हान गरेको छ । नेपाल शिक्षक महासंघले अब शिक्षा ऐन जारी नगराई आन्दोलन नरोकिने चेतावनी दिएको छ ।

तत्काल शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षकहरु २०७८ सालदेखि आन्दोलनमा छन् । पटकपटक भएका आन्दोलन सहमतिमा टुंगिएको र सहमति कार्यान्वयनमा सरकार उदासिन रहेको भन्दै यसपटक वार्ता समेत नगर्ने अडानमा शिक्षक छन् ।

संसदको हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी हुने आशामा रहेका शिक्षकहरु अधिवेशन स्थगित भएलगत्तै राजधानी केन्द्रित आन्दोलनमा होमिएका हुन् । विपक्षी दलका नेताहरुले शिक्षकका माग पूरा गर्न सरकारलाई आग्रह गरिरहेका छन् ।

सत्तापक्ष भने शिक्षा विधेयक गम्भीर रहेकाले व्यापक छलफल गर्नुपर्ने भन्दै शिक्षकहरुलाई आन्दोलन छाडेर आआफ्नो काममा फर्कन सुझाव दिइरहेका छन् भने कतिपय नेताहरुले विपक्षी दलले शिक्षकलाई उकासेको आरोप लगाएका छन् ।

यसै क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकलाई उचालेको आरोप लगाउनुभएको छ ।

आइतबार एक कार्यक्रममा अध्यक्ष प्रचण्डले काठमाडौँमा आन्दोलनरत शिक्षक कर्मचारीलाई माग पूरा नभएसम्म आन्दोलनको मैदान नछाड्न आग्रह गरेपछि महासचिव पोखरेलले सो आरोप लगाउनुभएको हो ।

पोखरेलले भन्नुभो, “विगतमा शिक्षकसँग सम्झौता गरेर त्यसको कार्यान्वयनमा उदासिनता देखाउने प्रचण्ड नेतृत्वको सरकार नै हो । उहाँ प्रधानमन्त्री भएको समयमा सम्झौता अनुसार विधेयकमा नै सुधार गरेर प्रस्तुत गरेको भए १८०० भन्दा बढी संशोधन प्रस्तावको जटिलतामा शिक्षा समिति पर्ने थिएन।”

प्रतिपक्षको असहयोगकै कारण शिक्षा विधेयक संसदकको हिउँदे अधिवेशनबाट पारित नभएको दाव गर्दै महासचिव पोखरेलले भन्नुभयो, “सत्तापक्षले संयन्त्र बनाएर छोटो प्रकृया अवलम्बन गरेरै हिउँदे अधिवेशनवाट विधेयक पारित गर्न प्रयास गरेको र उक्त प्रयासलाई माओवादीले समेत सहयोग गरेको भए शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था आउने थिएन ।”

शिक्षक आन्दोलन चौथो चरणमा : माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.