एनआरएनएद्वारा सरकारसँग लगानीमैत्री वातावरण बनाउन माग
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारसँग लगानीमैत्री वातावरण बनाउन माग गरेको छ । शुक्रबार सिंहदरबारमा (एनआरएनए)का पदाधिकारीहरूले अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेट गरी देशमा लगानीसम्बन्धी वातावरण बनाउन र नागरिकताको निरन्तरतालगायतका समस्या राखेका थिए ।
जवाफमा अर्थमन्त्री डा महतले देशमा लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ, सरकारले एनआरएनएलाई निराश हुने काम गर्दैन, लगानी गर्न चाहने साथी कुनै कारणबाट निरुत्साहित हुनुपर्दैन ।” लगानीमैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने उहाँको भनाइ थियो ।
सो अवसरमा अर्थमन्त्री डा महतले पछिल्ला घटनापछि नागरिकताका विषयमा जटिलता आएको स्मरण गर्दै एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदा व्यवहारिक कठिनाइ भएको बताउनुभयो ।
सोही क्रममा एनआरएनएका संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्वउपाध्यक्ष रामेश्वर साह, सोनाम लामा र एनआरएनए युकेका पूर्वअध्यक्ष योगेन क्षेत्रीको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्