प्रगतिशील लेखकहरुले वामपन्थी एकतामा भूमिका निर्वाह गर्नुपर्छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढङ्गले एकताबद्ध गर्न प्रगतिशील लेखकहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।

प्रगतिशील लेखक सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिप्रति आज बधाई ज्ञापन गर्दै उहाँले वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष दाहालले त्यतिबेलाको पार्टी एकता जोगाउन नसके पनि एकताको झण्डा छोड्न हुँदैन भन्नेमा माओवादी प्रष्ट रहेको बताउनुभयो ।
“माओवादीको केन्द्रीय समितिले वामपन्थी एकताको प्रयास छाड्न हुँदैन भन्ने नीति नै पारित गरेको छ । हिजो विभाजन भएकाले अब एकता असम्भव भनेर सोच्न मार्क्सवादी चिन्तन हुँदैन”, उहाँले भन्नुभयो ।
कम्युनिष्ट आन्दोलनमा स्थापनाकालदेखि विचारमा बहस, विवाद र सङ्घर्ष हुँदै आएको उल्लेख गर्दै सङ्घर्षका बीचमा नै कम्युनिष्ट आन्दोलनको विकास हुने बताउनुभयो । सोमबार सम्पन्न सम्मेलनले देवीदुवाल क्षेत्रीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्