भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दोस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।
जारी प्रतियोगितामा दिल्लीको यो लगातार दोस्रो हार हो । भारतको गोहावाटीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जोस बटलर र अर्का ओपनर यसस्वी जैसवालले अर्धशतकीय पारी खेल्दै क्रमश: ७९ र ६० रन बनाए ।
यी दुईले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए । त्यस्तै शिमरन हिटमायरले ३९ रनमा अविजित रहे । दिल्लीका लागि मुकेश कुमारले २ विकेट लिए भने रोभमन पावेल र कुलदिप यादवको भागमा समान १-१ विकेट रह्यो ।
२०० रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाउँन सक्यो । दिल्लीका लागि कप्तान तथा ओपनर डेविड वार्नरले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै ललित यादवले ३८ रन बनाउनु बाहेक अन्यले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले समान ३-३ विकेट लिए भने रविचन्द्र आश्विनले २ विकेट लिँदा सन्दीप शर्माको भागमा १ विकेट रह्यो । जितसँगै राजस्थान तीन खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ भने लगातार दोस्रो खेलमा हार व्यहोरेको दिल्ली अंकबिहिन रहँदै तालिकाको नवौं स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्