कोरोना फैलियो भन्दै माइकिङ गर्नेलाई नगरपालिकाले सोधपुछका लागि बोलायो
जताततै कोरोनाको त्रास फैलिइरहेका बेला जनजीवनलाई अरु त्रस्त पार्ने गरी गलत सूचना प्रसार गरेको भन्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले त्यस्तो कार्य गर्नेलाई सोधपुछका लागि बोलाएको छ । बिहिबार गोकर्णेश्वर नगरपालिकाको माकलबारी र मेडिकल कलेज क्षेत्रमा कोरोना संक्रमित देखिएको भन्दै टाटा मोबाइल गाडीमा सचेत रहन भन्दै माइकिङ गर्दै हिँडे।
यसअघि सोही क्षेत्रमा विदेशबाट आएकामा कोरोना लक्षण देखिएको र उनी अहिले पनि अस्पतालमा उपचाररत रहेको अवस्थामा चार जनाले गाडीबाट टोलमा कोरोना संक्रमित देखिन थालेको भन्दै माइकिङ गरेपछि टोलभरिका मानिसमा त्रास छायो ।
उनीहरुले त्यस क्षेत्र पूर्ण रूपमा लक डाउन भएको, दूध, खाद्यान्न सबै पसल बन्द हुने भन्दै प्रचार गरे । अकस्मात यस्तोा वातावरण बनेपछि नगरपालिकाका मेयर सन्तोष चालिसेले कोरोना संक्रमित भेटिएको सूचना कहाँबाट पाएर माइकिङ गरेको हो यस विषयमा सोधपुछका लागि नगरपालिकामा बोलाएको जानकारी दिनुभएको छ ।
मेयर चालिसेका अनुसार गोकर्णेश्वर नगरपालिका क्षेत्रमा अहिलेसम्म कुनै संक्रमित पुष्टि नभएको बताउँदै उनीहरुलाई नगरपालिकामा हाजिर हुन पत्र काटिसकेको जानकारी दिनुभएको छ ।
त्यसरी माइकिङ गर्नेको पहिचानन भैसकेको र प्रहरीलाई भनेर नगरपालिकामा हाजिर गराउन भनेको बताउँदै मेयर चालिसेले १५ दिनअगाडि युएईबाट आएका एकजना युवकलाई ज्वरो र खोकी देखिएपछि तत्काल टेकु अस्पताल पुर्याएको अहिलेसम्म कोरोनाको पुष्टि नभएको बताउनुभयो ।
चालिसेका अनुसार बिहीबारमात्र नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख अस्पताल पुगेर युवकको स्वास्थ्य अवस्था जानकारी लिएर आएको र शुक्रबार विहान पनि बिरामीसँग फोनमा कुरा गर्दा सबै ठिकै रहेको । नतिजा आउँन बाँकी रहेको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्