कुशल र आसिफको अर्धशतकीय पारीमा हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा कुवेतलाई छ विकले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । कुवेतका लागि क्लिन्टो एन्टोले ४१ रन बनाए भने मीत भवसरले ३५ रन जोडे । त्यस्तै बिलाल ताहिरले ३२ रन जोड्दा विजा सन्दारुवानले २६, मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिंदा ललितनारायण राजवंशी र कुशल भुर्लेलको भागमा समान एक-एक विकेट रह्यो । कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि कुशल भुर्तेलले ५० बलमा छ चौका र वहा छक्काको सहयोगमा सर्वाधिक ८० रनको अर्धशतकीय पारी खेले भने आसिफ शेखले ३८ बलमा चार छक्का र दुई चौकसहित ५३ रनको अर्धशतकीय इनिंग खेले । यस्तै दीपेन्द्रसिंह ऐरीले ३१ रन जोड्दा गुलसन झा ९ रनमा अविजित रहे । ।
पहिलो विकेटका लागि कुशल र आसिफले १२७ रनको साझेदारी गरेका थिए । कुवेतका लागि यासिन पटेलले दुई विकेट लिए भने मोहम्मद सफिक र कप्तान मोहम्मद अस्लामको भागमा समान एक-एक विकेट रह्यो । जितसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।
यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ । यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्