नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) टी -२० अलराउण्डरको दोस्रो स्थानमा रहेको दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।

उनले टी-२० आई करियरमा सबैभन्दा धेरै इनिङ डक आउट अर्थात् शून्य रनमा आउट नहुने खेलाडीको शीर्ष स्थानमा उक्लिदै नयाँ कीर्तिमान बनाएका हुन् । दीपेन्द्र टी-२० खेलमा अहिलेसम्म डक आउट भएका छैनन् । उनले वेस्ट इन्डिजका मार्लन सामुयल्सको नाममा रहेको ६५ इनिङमा डकआउट नभइ खेल्ने कीर्तिमान तोड्दै उक्त कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
हालसम्म ७६ टी-२० खेल खेलेका दीपेन्द्रले ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा उनी ब्याटिङमा उत्रिनु नै परेको छैन । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत बिहीबार भएको कुवेतसँगको खेलमा दीपेन्द्रले १२ बलमा दुई चौका र तीन छक्काको मद्दतमा ३१ रन बनाएका थिए ।
यसअघि दीपेन्द्रले सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्