भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लखनउ सुपर जायन्ट्सले तेस्रो जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलोरलाई १ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो ।
जारी प्रतियोगितामा यो बैंगलोरको लगातर दोस्रो हार हो । बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१२ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिस, विराट कोहली र ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेल्दै क्रमश: ७९, ६१ र ५९ रन बनाए ।
कप्तान फाफ र कोहलीले पहिलो विकेटका लागि ९६ र फाफ र म्याक्सवेलले दोस्रो विकेटका लागि अविजित रहँदै ११५ रनको शतकीय साझेदारी गरेका थिए । लखनउका लागि मार्क वुड र अमित मिश्राले समान १-१ विकेट लिए । २१३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको लखनउले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
लखनउको लागि मार्कस स्टोइनिस र निकोलस पुरनले अर्धशतकीय पारी खेल्दै क्रमश: ६५ र ६२ रन बनाए भने आयुष बदोनीले ३० रन जोडे । छैटौं विकेटका लागी बदोनी र पुरनले ३५ बलमा ८४ रनको विष्फोटक साझेदारी गर्दै टोलीलाई जिततर्फ उन्मुख गराएका थिए । त्यस्तै कप्तान केएल राहुल १८ रन बनाई आउट भए । बैंगलोरका लागि मोहम्मद शिराज र वायन पार्नेलले समान ३-३ लिए भने हर्षल पटेलको भागमा २ विकेट रह्यो ।
जितसँगै लखनउ ४ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ३ खेलमा २ अंक जोडेको बैंगलोर सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार पौने आठ बजे हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दै छन् ।
प्रतिक्रिया राख्नुहोस्