जन सरोकार

अपराध अनुसन्धानमा उपयोगी ‘नेपाल प्रहरी मोबाइल एप’

प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेशन (एप)’ उपयोगी साबित भएको छ ।

नेपाल प्रहरी मोबाइल एप

स्मार्ट फोन र अन्य मोबाइल उपकरणमा सर्वसाधरणको सहज पहुँचसँगै मोबाइल एपको प्रयोग पनि बढ्दै गएको छ । सूचना र सन्देश सङ्कलन तथा सम्प्रेषण गर्न प्रयोग गरिएको ‘नेपाल प्रहरी मोबाइल एप’बाट आमनागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थानसहितको सूचना दिने सुविधा उपयोग गर्न सक्षम भएका छन् । प्रहरीलाई पनि घटनास्थलमा पुगेर प्रभावकारी रूपमा काम गर्न मद्दत पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

नेपाल प्रहरी मोबाइल एपद्वारा ‘अडियो’, फोटो र ‘भिडियो’जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा मद्दत पुगेको उहाँले बताउनुभयो । उक्त एपको प्रयोगबाट आमनागरिकले ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस)मा आधारित रहेर फोटो, भिडियो, अडियो र ‘टेक्स्ट’ सम्प्रेषण गर्न सक्छन् । उहाँ भन्नुहुन्छ, “नेपाल प्रहरीको कामलाई प्रविधिमैत्री सेवाका रुपमा संस्थागत गर्ने उद्देश्यअनुरुप परीक्षणका रुपमा एप सञ्चालन भएको हो ।” हाल ७७ वटै जिल्लामा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालबाट तुरुन्त प्रहरी परिचालन गर्ने व्यवस्था भएको छ ।

समुदायमा हुने आपराधिक क्रियाकलाप, अन्य घटना एवं दुर्घटना तथा सूचनालाई चाँडो प्रवाह गर्न, अपराधिलाई तत्काल नियन्त्रणमा लिन तथा शान्तिसुव्यवस्था कायम गर्न एप उपयोगी भएको उहाँले बताउनुभयो । यो एप प्रहरीको सूचना प्रविधि निर्देशनालयले गरेको हो । निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्य यो एप हरेक नागरिकले प्रयोग गरी आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउन सक्ने बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.