कोरोनाबाट १४ नेपालीको मृत्यु, छ सय ६५ मा संक्रमण पुष्टि
झण्डै साँढे तीन महिना अघि चीनको बुहानबाट फैलन सुरु भएको कोरोना भाइरस संक्रमणले आजसम्म उकलाभन्दा बढीको ज्यान गैसकेको छ भने १७ लाखभन्दा बढी संक्रमित छन् ।
नेपाल पनि संक्रमण फैलिएको देशमा परे पनि अहिलेसम्म यहाँ संक्रमितको संख्या १ दर्जन मात्र छ तर विदेशमा भने नेपालीको मृत्युको संख्या यहाँ संक्रमितकोभन्दा बढी छ ।
पछिल्लो अपडेट अनुसार कोरोना भाइरसका कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ ।
सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।
विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो ।
अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक÷एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्