वीरगञ्जमा धार्मिक कार्यक्रम दंगामा परिणत भएपछि कफ्र्यू
वीरगञ्जमा विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा हिन्दू र मुस्लिम समुदायबीच झडपका कारण तनावग्रस्त भएपछि कर्फ्यु आदेश जारी भएको छ ।

शनिबार अपराह्न करिब ४ः५० बजे शोभायात्रा वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो ।
शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि सुरु भएको झडप तनावग्रस्त बनेको हो । अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो ।
झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी समेत भएको थियो । सोही ठाउँमा एउटा फ्रिज पनि पसलबाट बाहिर निकालेर आगजनी भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा खटिएका ८ जना प्रहरी घाइते भएका छन् । जसमध्ये तीन जनाको नारायणी श्रेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
अवस्था असामान्य बन्दै गएपछि करिब ६ बजेर १० मिनेटमा प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेलगत्तै साढे ६ बजेदेखि भोलि (आइतबार) १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।
प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्नेगरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मिति २०८१ साल चैत्र ३० गते साँझ ६ः३० बजेदेखि मिति २०८१ साल चैत्र ३१ गते दिउँसो १२ः०० बजेसम्म कर्फ्यु लागू गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्