सम्पादकीय

नयाँ वर्षबाट नेपालीलाई नेपालमै केही गर्ने वातावरण बनोस्

तीन सय ६५ दिनको एउटा समयचक्र पूरा गरेपछि नयाँ सम्वत्सर फेरिन्छ र नयाँ वर्ष सुरू हुन्छ । नेपालमा विक्रम सम्वत् प्रचलनमा छ र हरेक वर्षको बैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मानेर वर्ष पात्रो फेरिने क्रम चल्दैआएको छ ।

उत्साह, आशाका बीच उत्पन्न निराशा, अनेक सकस र आर्थिक–सामाजिक दूरावस्था तथा राजनीतिक अस्थिरताले घेरिएको २०८० सालले आजबाट विदा लिएर नयाँ वर्ष २०८१ सुरु भएको छ ।

नयाँ वर्षको आगमनलाई विशेष उत्साह र उमंगकासाथ स्वागत गर्ने र एक आपासमा शुभकामनाको आदान प्रदान गर्ने परम्पराको निर्वाह हुँदैआएको छ । वितेका वर्षका उल्लेख्य घटनाहरूलाई अभिलेखमा राखेर नयाँ वर्षलाई विशेष अवसरका रूपमा ग्रहण गर्ने सकारात्मक र आशाप्रद धारणाको प्रवाह निरन्तर हुँदैआएको छ ।

हामी पनि नयाँ वर्ष २०८१ प्रवेशको यो क्षणमा समस्त नेपाली जनको समुन्नति, प्रगति र सुख–शान्तिको कामना गर्दै स्वाभिमान नेपालको नव निर्माणका लागि राष्ट्रिय एकताको भावना सबल बनोस् र विधिको शासन कायम गर्दै देशले समुन्नति र समृद्दिको सुमार्ग पहिल्याओस् भन्ने हार्दिक कामना गर्दछौं ।

बितेको २०८० सम्पूर्ण नेपालीका लागि त्यति सुखद् रहेन । नेपालको राजनीतिक वातावरण यति धमिलिएको छ कि कसैप्रति कसैको विश्वास र भरोशा छैन । सत्ता स्वार्थका लागि गठबन्धन बन्ने, भत्किने क्रम चलिरहेको छ । राजनीतिक स्थिरता कायम हुँदै मुलुकले समृद्धिको मार्ग तय होस् भन्ने आम नेपाली जनताको चाहनामा तुषारापात मात्र भैरहेको छ ।

सत्तामा रहँदा एकथरि र बाहिर रहँदा अर्कोथरि कुरा र व्यवहार गर्ने दोधारो व्यवहार गर्ने राजनीतिक नेतृत्वका कारण मुलुकले सकस मात्रै पाइरहेको छ । जतिसुकै ठूलो राजनीतिक परिवर्तन गर्यौं भनिए पनि नेताहरुको चरित्रमा परिवर्तन नआउँदा मुलुकले गति नै लिन सकेको छैन । व्यक्तिगत स्वार्थका लागि देशको भविष्य अन्धकारमय बनाउने प्रवृत्ति छ ।

आफ्नो स्वार्थका लागि कसैलाई उपयोग गर्न सकुन्जल राम्रो, स्वार्थमा उपयोग गर्न नसके खराब देख्ने चरित्रले असहिष्णुता मात्रै बढाइरहेको छ । अहिले पनि त्यस्तै अवस्था छ । संविधान बनेको यति लामो समयसम्म पनि मुलुकले अपक्षित गति लिन नसक्नुमा राजनीतिक सहमति र सहकार्यको नहुनु नै भए पनि त्यस दिशातिर कसैको चासो छैन ।

अनेकताबीच एकता र वैचारिक मतभिन्नताका बीच राष्ट्रिय सहमतिको अपरिहार्यता निरन्तरको आवश्यकता भए पनि देशका राजनीतिक शक्तिहरूले त्यसलाई आत्मसात गरेका छैनन् । संविधानले सहमतिका आधारमा राज्य संचालन गरी सबै दल मिलेर देश बनाउन् भन्ने आकांक्षा राखेको छ । तर, यसको दुरुपयोग हुँदै आआफ्नै स्वार्थका लागि मात्र काम गर्नेहरुकै हालिमुहाली छ ।

नयाँ वर्षले राजनीतिक–आर्थिक–सामाजिक हरेक क्षेत्रमा मौलाइरहेको, कायम रहेको विकृति, विसंगति, कुशासन, बेथितिहरुको अन्त्य हुँदै जनताले सुख, शान्ति र समृद्धिका लागि सहज श्रम गर्ने वातावरण बनोस् । नयाँ वर्षको अवसरमा मौखिक रुपमा सुख, शान्ति, समृद्धिको शुभकामना दिने मात्र होइन त्यस्तो वातावरण निर्माण गर्ने जाँगर नेताहरुममा जागोस् ।

नेपालको वर्तमान अवस्था नेपाली जनताको चाहना र राष्ट्रिय अपेक्षा अनुरूपको छैन । मुलुक आमूल परिवर्तनको दिशातिर डोरिएको भए पनि त्यसले राष्ट्रिय चिन्तनधारको अपेक्षित बाटो समात्न सकेको छैन । मुलुकलाई युगसापेक्ष मार्गमा हिँडाउने जिम्मेवारी बोकेका राजनीतिक दलका नेताहरू नै राष्ट्रिय दृष्टिकोणको अभावमा पथविचलित बनिरहेका छन् ।

मुलुकको भाग्य निर्धारण गर्ने क्षमता नेपालको राजनीतिक नेतृत्वले गुमाइसकेको अनपेक्षित वातावरणको सिर्जनाले राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावमा नै आँच आउने जोखिमपूर्ण अवस्था सिर्जित भैरहेको छ । हाम्रा प्रमुख राजनीतिक दलका मार्गचित्र र कार्य योजनाहरू मुलुकभित्र नबनी बाह्य क्षेत्रबाट प्रक्षेपित हुने गरेकाले राष्ट्रिय आकांक्षा विपरीतका गतिविधिहरूले प्रश्रय पाइरहेका छन् ।

देशको राजनीतिक गतिविधिमा कुनै सन्तुलन छैन । वैदेशिक सम्बन्धमा पनि त्यतिकै असन्तुलन छ । विधिको शासनविनाको लोकतन्त्रले मुलुकलाई चौतर्फी संकटको घेरामा पारेको छ । राजनीतिक वितण्डावादले मुलुकको सामाजिक सद्भाव पूरै खल्बलिन पुगेको छ भने अर्थतन्त्र तहसनहस भएको छ ।

वितेका वर्षहरूले थोपरेका बेथितिपूर्ण अभिशापका पहाडहरू नहटे नहटाएसम्म नेपाल विधिको शासनको लोकतान्त्रिक मार्गमा प्रवेश नै गर्न नसक्ने कुरा अकाट्य छ । यस्तो अभिशापपूर्ण अवस्थाबाट देशलाई मुक्त गर्न राष्ट्रिय जागरण नै पैदा हुनुपर्दछ । नयाँ वर्ष २०८१ सालले त्यस्तो जागरण पैदा गरोस् । सबैममा चेतना आओस्, देशभक्तिको भावना बढोस् ।

हाम्रो कामना छ– नयाँ वर्ष २०८१ मुलुकका राजनीतिक स्थिरता, विकास, समृद्धि, सुशासन र सामाजिक सद्भावको वर्ष बन्दै नेपालीलाई नेपालमै उद्यम र श्रम गर्ने वातावरण बनोस् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.