एकीकृत समाजवादीद्वारा स्थानीय समस्या समाधानमा केन्द्रित हुन निर्देशन
नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्ना मातहतका सबै कमिटीलाई सम्बन्धित प्रदेश/जिल्ला/पालिकामा बहुसङ्ख्यक जनताले भोगिरहेका मुख्य समस्या समाधानमा केन्द्रित हुन निर्देशन दिएको छ । पार्टी सङ्गठनलाई जनताप्रति जवाफदेही तथा थप उत्तरदायी बनाउन, समस्या समाधानका लागि पहल गर्न नेताहरूलाई जिम्मेवारी दिइएको हो ।

पछिल्लो समय राजनीतिक दलप्रति जनताको विश्वास र भरोसा घट्दै गइरहेको अवस्थामा सामाजिक, प्रशासनिक, राजनीतिक कार्यमा जनतालाई सुसूचित गर्दै सहजताका लागि विभिन्न समुदाय र वर्गका मुख्य समस्या समाधान गर्ने कार्यमा कमिटीलाई अग्रसर हुन भनिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश, जिल्ला, पालिकाले गरेका गलत निर्णय तथा ती निकायको विकासका लागि आवश्यक मुद्दाहरू कमिटीले उठाउने, त्यसलाई केन्द्रमा जानकारी गराउने र केन्द्रले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी समाधान खोजिनेछ । विकसित राजनीतिक घटनाक्रमलाई दृष्टिगत गरेर पार्टीले जनतामाथि विभेद र शोषणका रूपहरू, सरकारी कार्यालयहरूमा भए/गरेका भ्रष्टाचारका रूपहरूको भण्डाफोर अभियान सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत मागपत्र बुझाएको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्