छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
भोजपुर, तनहुँ, कास्की र काभ्रेमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । भोजपुर, भोजपुर नगरपालिका-३ सेतीबगरस्थित सडकमा बोखिमबाट छिनामखुतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-५ बस्ने ५२ वर्षीय निर प्रसाद फुयाल र ५५ वर्षीय भक्त बहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै तनहुँ, ब्यास नगरपालिका-५ मोचाबारीस्थित सडकमा ग.१ ख ५८७५ नम्बरको टिपर र ग.२५ प ५५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक ब्यास नगरपालिका-५ माथिल्लो पाटन बस्ने ३० वर्षीय मनिष आले मगरको मृत्यु भएको छ ।
शनिबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै कास्की, पोखरा महानगरपालिका-६ बुलौदीस्थित सडकमा हल्लनचोकबाट जिरोतर्फ जाँदै गरेको ग.१३ प ५९९८ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार पोखरा बस्ने लमजुङ घर भएका २९ वर्षीय बुदी गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता काभ्रे, मण्डनदेउपुर नगरपालिका-२ ठकुरी गाउँस्थित निर्माणाधीन मिस्टिक माउन्टेन होटलको कम्पाउण्डमा बा.२ क ३४६४ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा करिब ७ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३१ वर्षीय बिनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्