हङकङमा सम्पन्न चारदेशीय टी-२० आई सिरिजको उपाधि कुवेतले जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपाललाई तीन रनले पराजित गर्दै कुवेतले उपाधि जितेको हो ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले भने क्लिन्टो एन्टोले २६ रन बनाए ।
त्यस्तै उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाउनु बाहेकअन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् ।नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई-दुई विकेट लिए भने करण केसी र कुशल भुर्तेलको भागमा समान एक-एक विकेट रह्यो ।
कुवेतले प्रस्तुत गरेको एक सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा एक सय ७१ रनमा अल आउट भयो । नेपालको लागि बासिर अहमदले ४३ बलमा आठ चौका र चार छक्काको मद्दतमा ८० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै नन्दन यादवले १४ बलमा दुई चौका र चार चक्काको मद्दतमा ३७ र आसिफ शेखले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो अनाकामा रन जोड्न सकेनन् ।
सुरुवात निकै खराब रहेको नेपालको ब्याटिंग बासिर र नन्दब यादवले उकासेका थिए । यी दुईले नवौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याएका थिए । अन्तिम ओभरमा नेपाललाई जितको लागि ११ रन आवश्यक थियो ।
कुवेतको अन्तिम ओभर गर्न अुनदीप चिन्थामारा आए र पहिलो बलमा नो बल फ्याँके जसमा बसिरले छक्का प्रहार गर्दै जित नजिक पुर्याएका थिए । तर उनी तेस्रो बलमा लामो सटहान्ने क्रममा क्याच आउट भएपछि नेपाल झिनो अन्तरले पराजित हुन पुग्यो ।
कुवेतको लागि अुनदीप चिन्थामाराले तीन विकेट लिए भने यासिन पटेल र नविनराज राजेन्द्रनको भागमा समान दुई-दुई विकेट रह्यो ।
प्रतिक्रिया राख्नुहोस्