इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेङ्लुरुले चौथो जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्सविरुद्ध ९ विकेटको सानदार जित निकाल्दै बेङ्लुरुले प्रतियोगितामा चौथो जित निकालेको हो ।

जयरपुरस्थित सवाई मानसिंह रंशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ७३ रनको योगफल तयार पारेको थियो । राजस्थानका लागि यशस्वी जैसवालले ४७ बलमा १० चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७५ रनको अर्धशतकीय पारी खेले भने ध्रुव जुरेल ३५ रनमा अविजित रहे ।
त्यस्तै रियान परागले ३० रन जोड्दा कप्तान सन्जस सामसनले १५ रन बनाए । बेङ्लुरुका लागि भुवनेश्वर कुमार, यश दयाल, कुर्णाल पाण्डेया र जोश हेजलउडले समान एक-एक विकेट लिए । राजस्थानले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य बेङ्लुरुले १७.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।
बेङ्लुरुका लागि फिल साल्टले ३३ बलमा छ छक्का र पाँच चौकाको सहयोगमा सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले भने विराट कोहलीले ४५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ६३ रनमा अविजित रहे । यस्तै देवदत्त पडिकल ४० रनमा नट आउट रहे । राजस्थानका लागि कुमार कार्तिकेयले एक विकेट लिए ।
जितसँगै बेङ्लुरु छ खेलमा आठ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट चार अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्