किन हराउँदै गयो नेपालीबीचको धार्मिक सहिष्णुता ?
नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक, भौगोलिक विविधताबीच जुन एकता र सहिष्णुता कायम छ त्यो विश्वकै लागि उदाहरणीय रहेको छ । सहिष्णु, सहयोगी रहेको नेपाली समाज केही दशकयता हिंसाप्रिय हन थालेका घटनाक्रमहरुले देखाइरहेको छ ।

यसको पछिल्लो उदाहरण वीरगञ्जको धार्मिक दंगा हो । वर्ष २०८१ समाप्त हुन दुई दिन बाँकी रहँदा वीरगञ्जमा हिन्दु र मुस्लिम समयदायबीच भएको झडपले नयाँ वर्षको मुखमा मुलुकको प्रमुख आर्थिक नगरी निषेधाज्ञाको घेराबन्दीमा पर्यो ।
हनुमान् जयन्तीका अवसरमा चैत्र ३० गते शनिबार विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो ।
अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो । दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको र २५ प्रहरी तथा ८ सर्वसाधारण गरी ३३ जना घाइते भएका छन् । स्थिति नियन्त्रणको क्रममा १ सय ४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर भएको थियो ।
घटनाको प्रकृति र प्रत्यक्षदर्शीको भनाई सुन्दा नियोजित जस्तो लाग्छ । शोभा यात्रामा सहभागी एकजनाले बोकेको जय श्रीराम अंकित झन्डा एक अपरिचित युवाले खोसे । त्यसपछि सडक छेउमा रहेको मस्जिदको छतमाथिबाट शोभा यात्रामा सहभागी मानिसहरूमाथि ढुंगा हान्न थालियो । विवाद यही सुरु भयो ।
प्रहरी र स्थानीयबीचको झडपका कारण उत्पन्न तनावपूर्ण अवस्थापछि सेनासमेत परिचालित भएको थियो । शनिबार साँझदेखि आइतार मध्यरातसम्मको कफ्र्यू लगाइएपछि भएको वार्तामा दुई फरक धर्म समुदायबीच जारी तनाव अन्त्य गर्न पाँचबुँदे सहमति भएको छ ।
सहमतिमा झडपमा संलग्न दोषीहरूलाई वैशाख ३ गतेभित्र पक्राउ गरी कारवाही गर्ने, अन्तर धार्मिक, साम्प्रादायिक सद्भाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने लगायत छन् ।
यसै गरी घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने, तोडफोड र आगजनीबाट भएका भौतिक क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने, वीरगन्जमा अब आयोजना हुने धार्मिक एवं सांस्कृतिक कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने सहमति भएको छ ।
त्यसै गरी वीरगन्जसहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदरसा र विद्यालयहरूमा सूक्ष्म अनुगमन गरेर अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने गरी जिल्लामा सक्रिय सबै राजनीतिक दलका नेता, हिन्दू र मुस्लिम समुदायका अगुवाहरूले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।
त्यसो त तराई क्षेत्रमा बेलाबेलामा धार्मिक दंगा भैरहन्छ । वीरगञ्जमै करिब १४ महिना अगाडि पनि दुई धार्मिक समूहबीच विवाद उत्पन्न भएपछि कफ्र्यू आदेश जारी भएको थियो ।
त्यतिबेला रौतहट जिल्लाको ईशनाथ नगरपालिकास्थित मोतीपुरमा श्रीपञ्चमी पर्व मनाइसकेपछि सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर दुई धार्मिक समुदायबीच विवाद उत्पन्न भएको थियो ।
पछिल्लो समय तराई मधेशका सीमाना जोडिएका जिल्लाहरूमा दुई समुदायबीचको विवादले उग्र रूप लिन थालेको छ । यस्तो अवस्था बढ्दै जाँदा सुरक्षा दृष्टिकोणबाट अवस्था खतरापूर्ण बन्नुका साथै समाजका लागि पनि ठूलो हानी पुर्याइरहेको छ । यस्ता घटना आवेशमा मात्र नभएर नियोजित पनि हुनसक्ने समाजका अगुवाहरुको आशंका रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्