प्रबास

लन्डनमा साहित्यकारहरूले मनाए नेपाली नयाँ वर्ष २०८२

बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् (यूके)ले नया वर्ष २०८२ स्वागत सम्मान, सिर्जना वाचन र गीत सङ्गीतसहित मनाएको छ ।

वयस्ट लन्डनस्थित एबीआई कलेज एक्टनमा आयोजित समारोहमा बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई परिषद्को पदेन संरक्षककरूपमा स्वागत सम्मान गएिको थियो ।

उहाँलाई परिषदका अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, प्रमुख वरिष्ठ सल्लाहकार डा राघव धिताल ओबीई, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी लगायत कवि साहित्यकारहरुले ब्याज, खाता, पुष्पगुच्छा र प्रशस्तीपत्र पढेर अभिनंदन गर्नुभएको थियो

परिषदको संरक्षकत्व ग्रहण गर्दै राजदूत आचार्यले नेपाल र नेपालीको पहिचान समृद्धि हुने परिषद्का यस्ता सिर्जनात्मक कार्यहरूमा राजदूतावासको सहयोग र सहभागिता निरन्तर रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि राजदूत घिमिरेले विदेशमा नेपाली पहिचान जिवन्त राख्न नेपाली भाषा, साहित्य संस्कृति जस्ता मूलभूत कुराहरूलाई संरक्षण र संबर्धन गर्न नेपाली साहित्य विकास परिषद् यूके ले निरन्तर गरेका गतिविधिहरूको सह्राना गर्नुभयो ।

राजदूत घिमिरेले सबै सर्जकहरूमा आउदै गरेको नेपाली नया वर्ष २०८२ को उपलक्षमा नेपाली दूतावास र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।

परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा. राघव प्रसाद धिताल ओबीईले बेलायतमा नेपाली भाषा, साहित्य, कला जस्ता नेपाली पहिचानहरूलाई जीवन्त राख्न साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सह्रानीय रहेको बतानुभयो ।

सभापतिको आसनबाट बोल्नुहुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले परिषद्का पदेन संरक्षक राजदूत कवि चन्द्रकुमार घिमिरेको स्वागत सम्मान गर्न पाउँदा हर्षित भएको बताउनुभयो ।

उहाँले नेपाली साहित्य विकास परिषद् यूकेले नेपाली पहिचान बोकेको नयाँ वर्ष मनाएर आफ्ना गाउँ घर चौतारी र भञ्ज्याङहरूलाई सम्झिरहेको बताउँदै परिषद्का विविध क्रियाकलापहरूको बारेमा चर्चा गर्नुभयो ।

त्यसै गरी परिषदका पूर्व अध्यक्ष बिबीसी नेपाली सेवाका पूर्व संचालक कवि खगेन्द्र नेपालीले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके को स्थापना हुँदा तत्कालिन राजदूत सूर्यप्रसाद श्रेष्ठको सल्लाह सहमति र सहभागिताबाट नै बेलायत स्थित नेपाली राजदूत परिषद्को पदेन संरक्षक रहने परिपाटी बसेको जानकारी दिनुभयो ।

उहाँले सोही समय तत्पश्चात बेलायत आउने राजदूतज्यूहरूबाट नेपाली साहित्यको श्रीवद्धि गर्ने कार्यमा परिषदमा गरिमामय सहभागिता र सहयोग रहँदै आएको चर्चा गर्नुभयो ।

यस अघि स्वागत मन्तव्य राख्नुहुँदै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यिको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको चर्चा गर्नुभयो ।

कार्यक्रमको शुभारम्भ गर्नुहुँदै परिषद्का महासचिव कवि डा. सुधा श्रेष्टले बेलायतको भूमिमा नेपाली भाषा साहित्यलाई जोगाउँदै लगेर नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा नेपाली साहित्य विकास परिषद्ले साहित्यिक गतिविधिहरू गर्दै आएको चर्चा गर्नुभयो ।

राष्ट्रीय गान, मंगल धुनबाट आरम्भ गरिएको समारोहमा अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले परिषद्को नवौं पदेन संरक्षकको रूपमा राजदूत चन्द्रकुमार घिमिरेलाई स्वागत सम्मान अभिनन्दन पत्र पढेर अभिनन्दन गर्नु भएको थियो ।

यसै समारोहमा भर्खरै दिवंगत हुनुभएका परिषदका संस्थापनाकाल देखिका आजीवन सदस्य तथा कार्यसमितिका सदस्य समाजसेवी हरि केसीको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनघारणा गरिएको थियो ।

समारोहमा सारङ्गी र मादलमा मङ्गल धुन र परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का उपाध्यक्ष वसन्त रायक्षत्री तथा वरिष्ठ कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानबाट प्रस्तुत गरिएका थिए ।

समारोहम कविहरूमा वसन्त रायक्षेत्री, वासु सापकोटा,घनबहादुर थापा, रेशम अर्याल, डा. सुधा श्रेष्ठ, अनुप अधिकारी, हरिसिंह थापा, मनोज अन्जान बिरेन्द्र कुवॅर र कोमल मल्ल आदिले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा जलपान सहयोगका लागि आभार प्रकट गर्नुहुँदै सभापति अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ओबीई डा. जनककुमारी धिताल, वरिष्ट सहअध्यक्ष ध्रुव केसी, डा. सुधा सुधा श्रेष्ठ, रेशम अर्यालप्रति आभार व्यक्त गर्नुभयो ।

त्यसै गरी विषेस सहयोगका लागि सल्लाहकार एबीआई कलेजका प्रोप्राइट कृष्ण भट्ट,सल्लाहकार मदन थापा, उपाध्यक्ष वसन्त क्षेत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान,ज्ञानेन्द्र राउत, पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्ल, सीतु खरेललाई धन्यवाद ज्ञापन गर्नुभयो ।

समारोहमा नेपाली साहित्य विकास परिषद् (यूके) सहअध्यक्ष रेशम अर्यालले उपस्थित अतिथि सबैमा धन्यबाद ज्ञापन अर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.