मातातीर्थ सवस्टेसनमा आगलागीपछि वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध
आइतबार दिउँसो नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सवस्टेसन अन्तर्गतको ११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा अचानक आगलागी भयो ।

भूमिगत लाइन परीक्षणका क्रममा आगलागी भएपछि केही समयका लागि तीनवटा फिडरमार्फत वितरण हुने क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको थियो ।
अहिले काठमाडौं उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध गराइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रभावित भएका अधिकांश क्षेत्रमा आइतबारदेखि नै विद्युत् आपूर्ति पुनःसञ्चालन गरिसकेकोे जानकारी दिनुभयो ।
बूढानीलकण्ठ र चपली सवस्टेसनबाट आवश्यक स्वीचगियर ल्याएर प्रतिस्थापन प्रक्रिया अगाडि बढाइएको र तत्कालका लागि स्युचाटार सवस्टेसनबाट आपूर्ति रिरोटिङ गरी अधिकांश क्षेत्रको विद्युत् सेवा पुनः सञ्चालन ल्याइएको शाक्यले जानकारी दिनुभयो ।
उहाँले आगलागीपछि केही गलत सूचना बाहिरिएको बताउँदै अधिकांश क्षेत्रमा आइतबारदेखि नै आपूर्ति बहाल भइसकेको हो, केवल चन्द्रागिरि आसपासको केही क्षेत्र मात्र बाँकी रहेको र त्यहाँ धमाधम काम भइरहेको जानकारी दिनुभयो ।
भूमिगत लाइन परीक्षणको क्रममा आगलागी भएको हुँदा यसको सम्पूर्ण जिम्मेवारी निर्माण ठेकेदारले लिनुपर्ने र जलेका उपकरण ठेकेदारले प्रतिस्थापन गर्ने कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।
उक्त घटनाले काठमाडौं उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ । भूमिगत पाइपलाइन प्रणालीको स्थायित्व र सम्भावित जोखिमहरूबारे थप अध्ययन आवश्यक रहेको देखाएको छ ।
प्रतिक्रिया राख्नुहोस्