संरक्षण पाएपछि फेरिँदै गलकोट कोतघर
विसं १६३१ देखि १८४४ सम्म राज्य सञ्चालन भएको ऐतिहासिक गलकोट कोतघरको मुहार फेरिएको छ । त्यसबेला गलकोट चौबिसे पर्वत राज्यअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो ।
गलकोट नगरपालिका–३ स्थित उक्त कोतघरलाई आव २०७६र०७७ मा कोतघरलाई नगर गौरवको योजनामा समेटेर संरक्षण र विकासको काम थालिएको थियो ।
नगरपालिकाको आफ्नै पहल र लगानीमा कोतघरले नयाँस्वरुप पाएको हो । कोतघरलाई आकर्षक सम्पदास्थलका रुपमा चिनाउने लक्ष्यसहित संरक्षणको काम भइरहेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार कोतघरको मर्मतसम्भार, हातहतियार प्रतिस्थापन, साजसज्जा, घेराबार, पदमार्ग, खानेपानी, शौचालयलगायत संरचना बनाइएको छ । कोतघरको बृहत् जीर्णोद्धारका लागि नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारेको छ । ऐतिहासिक र पुरातात्विक महत्व झल्कने गरी कोतघरको जीर्णोद्धार गरिने वडाध्यक्ष भण्डारीले बताउनुभयो ।
“डिपिआर तयार भइसकेको छ, सोअनुसारको आर्थिक स्रोत जुट्यो भने जीर्णोद्धारको काम अघि बढ्छ”, उहाँले भन्नुभयो । नगरप्रमुख भरत शर्मा गैरेले कोतघरलाई ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने गरी पूर्वाधारको काम भइरहेको बताउनुभयो । उहाँले हटिया बजार (मध्यपहाडी पुष्पलाल लोकमार्ग) देखि कोतघर जोड्ने पहुँच मार्ग कालोपत्रका लागि (डिपिआर) बनेको बताउनुभयो ।
“कोतघर संरक्षण र जीर्णोद्धारका लागि सङ्घ सरकारसँग समपूरक बजेट माग गरेका छौँ, प्रदेशमा पनि पहल भइरहेको छ”, नगरप्रमुख गैरेले भन्नुभयो, “नगरपालिकाको आन्तरिक लगानीलाई अब आउने नेतृत्वले पनि निरन्तरता दिने मेरो विश्वास छ ।”
नगरपालिकाले तीन वर्षअघि गौरवको योजनाका रुपमा कोतघरलाई रु ५० लाख बजेट दिएको थियो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले सम्पदा संरक्षणमा स्थानीयवासीको पनि भूमिका रहने बताउनुभयो ।
उहाँले नगरपालिकाको प्रयासमा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष बस्नेतले कोतघरको जीर्णोद्धार गर्दा त्यसको ऐतिहासिकता र मौलिकता जोगाउनुपर्ने बताउनुभयो । “कोतघरलाई गन्तव्यस्थल बनाउने हो भने संरचना पनि पर्यटनमैत्री हुनुपर्छ”, उहाँले भन्नुभयो ।
उक्त कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । कोतघरले झण्डै सात रोपनी जग्गा चर्चेको छ । कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि त्यहाँ छ ।
राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भइसकेका छन् । गलकोट बहुमुखी क्याम्पसका पूर्वप्रमुख कृष्णप्रसाद गौतमका अनुसार पहिले त्यहाँ झिँगटीले छाएको भुइँतले दरबार थियो । दरबारको जगमा अहिले पनि इँटामा अवशेष भेटिने गरेको उहाँको भनाइ छ । कोतघर पनि विसं २०४० तिर पुनःनिर्माण गरी ढुङ्गाले छाइएको हो ।
कोतघरका झ्याल, ढोका भने पुरानै छन् । कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन् । तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यति बेलैका मूर्ति र शिला छन् ।
कोतघरमा अघिल्लो वर्ष दसैँको नवदुर्गा पारेर ६५ किलोको खुँडा, ५० किलोको तरबार र ६० किलोका दुई खुकुरी प्रतिस्थापन गरिएको थियो । हेर्दै अजङ्गका लाग्ने ती हातहतियारले पनि कोतघरमा आकर्षण थपेका छन् । कोतघरको महिमा झल्काउन प्रतिकात्मकरुपमा पुरानै स्वरुपका हातहतियार सङ्ग्रह गरिएको हो ।
गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम ‘गोलकोत’ रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंश हुँदै अहिले गलकोटका रुपमा प्रचलित छ ।
प्रतिक्रिया राख्नुहोस्