आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा ओमानलाई आठ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमान ३८ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रनमा समेटिएको थियो । ओमानका लागि जीत व्रजेश शाहले ७८ बलमा छ चौकाको सहयोगमा सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले भने सिद्धार्थ सौम्य शंकरले १६ र प्रतिश हेमा रमेशले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि युवराज खत्रीले पाँच विकेट लिए भने सन्तोष यादवले दुई विकेट लिँदा अपराजित पौडेल, अशोक धामी र दयानन्द मण्डलको भागमा समान एक-एक विकेट रह्यो । ओमानले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि निरजकुमार यादवले ४६ रन बनाए भने साहिल पटेलले ४३ रन जोडे । त्यस्तैकप्तान नरेन भट्टले १२ र सन्तोष यादव १० रनमा अविजित रहे । निरज र शाहिलले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । ओमानका लागि सौम्यभविन सम्पतले दुई विकेट लिए ।
जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने समान खेलमा पराजित ओमान अंकविहिन छ । यसअघि आइतबार भएको पहिलो खेलमा नेपालले युएईलाई डववर्थ लुइस पद्धति (डिएलएस) मेथडका आधारमा पाँच रनले पराजित गरेको थियो । अब नेपालले तेस्रो खेल बुधबार हङकङविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्