‘हामी ठूला परियोजना सञ्चालनको तयारीमा छौँ’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर सुरु गरेको ठूला परियोजना सञ्चालनको तयारीमा रहेको बताउनुभएको छ ।

गतवर्ष ढोरपाटन उपत्यकामा भएको महासङ्घको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको उक्त परियोजनाले जलविद्युत् र पर्यटनमा लगानी गर्ने र समस्यामा रहेका परियोजनालाई सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । मुलुकलाई आर्थिक रुपमा सुदृढ आत्मनिर्भर गराउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण निर्माण गर्न सकारात्मक सन्देश दिने सञ्चार सामाग्री प्रकाशन गनुपर्ने धारणा राख्नुभयो ।
ढोरपाटन दैनिकले सोमबार आयोजना गरेको २०८२ सालको क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदानमा उहाँले युवा रोजगारी बढाउन पर्यटन र जलविद्युत्मा लगानी आवश्यक भएको बताउनुभयो । त्यसैका लागि महासङ्घको अगुवाइमा गतवर्ष १० अर्बको ठूला परियोजना स्थापना गरिएको उहाँको भनाइ छ ।
अध्यक्ष ढकालले पछिल्लो समय सरकारले लगानीमैत्री वातावरणको सुरुवात गरेको बताउनुभयो । नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आउन खोजी रहेकाले सरकारले वातावरण बनाउनुपर्ने उहाँको धारणा थियो । ढकालले विदेशीले नेपालमा लगानी बढाएमा रोजगारी बढ्ने मात्र नभइ संसारभर सकारात्मक सन्देश जाने बताउनुभयो ।
बैंकहरुले ब्याज घटाउने, कालोबजारी ऐन खारेजीसहितका एजेण्डा पूरा गर्न सरकारले थालिसकेको उहाँको भनाइ छ । जसका कारण विश्वव्यापी आर्थिक सङ्कटको असर नपरोस् भन्ने चाहेको महासङ्घका अध्यक्ष ढकालले बताउनुभयो । ढकालले नयाँ सोच र परियोजना बनाएर बसेका उद्यमीलाई पूँजी अभाव भएमा ठूला परियोजनामार्फत साथ दिने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्