जापानमा सामुहिक गुफा (बारा) सम्पन्न (फोटोहरुसहित)
विदेशमा रहेका नेवाःहरुको अतर्राष्ट्रिय संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले सो मुलुकमा रहेका नेवा संस्कृतिको महत्वपूर्ण कर्म गुफा (बारा) सम्पन्न गरेको छ ।

यही अप्रिल १२ तारिख शनिबार राजधानी टोकियो ईचिगायामा अवस्थित बिहारमा गुफा राखिएको थियो भने १३ तारिखका दिन विधिपूर्वक बाहिर निकाली सूर्य दर्शन गराइएको थियो।
संस्थाका महासचिव शिव तण्डुकारका अनुसार गुफा (बारा) कार्यक्रममा टोकियो र टोकियो बाहिरका शहरहरूबाट पनि सहभागिता जनाइएको थियो।
यसअघि संस्थाले गएको मार्च १ तारिखका दिन सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध कार्यक्रम समेत आयोजना गरेको थियो।
परम्परा अनुसार, १२ दिनसम्म घाम नपस्ने बन्द कोठामा किशोरीहरूलाई राख्ने चलन छ। तर, हाल लामो समयसम्म गुफामा बस्ने चलनले धेरै चुनौतीहरू ल्याएका कारण एक रात मात्र बौद्ध बिहारमा गुफा राख्ने नयाँ परम्परा नेपालमा प्रचलनमा आएको छ।
त्यही परम्परालाई जापानमा पनि अनुसरण गर्दै एक रातको गुफा राखी विधिवत पूजासम्म सम्पन्न गरिएको संस्थाका अध्यक्ष रूपेश डंगोलले जानकारी दिनुभयो।
नेवारी संस्कार अनुसार, कुनै पनि बालिका किशोरावस्थामा प्रवेश गरेपछि गुफा (बारा) राखिन्छ। बालिका महिनावारी हुनुभन्दा केही वर्षअघि नै घाम नपस्ने अँध्यारो कोठामा १२ दिनसम्म गुफामा राख्ने परम्परा छ ।
योपरम्परालाई सूर्यसँग विवाह गरिएको रूपमा लिइन्छ। यसलाई दोस्रो विवाह पनि मानिन्छ, किनभने यसअघि बालिकाहरूको बेल विवाह (ईही) गर्ने परम्परा रहिआएको छ।
पूजाको अन्त्यमा संस्थाका अध्यक्ष डंगोलद्वारा सहभागी बालिकाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने संस्थापक अध्यक्ष माधव मानन्धर र पूर्व अध्यक्ष ज्ञानु खातो मानन्धरद्वारा उपहार प्रदान गरिएको थियो।
प्रतिक्रिया राख्नुहोस्