कर्पोरेट/पर्यटन

नयाँ वर्षमा पोखरा पर्यटकमय (भिडियोसहित)

देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्ष विसं २०८२ पर्यटनमय बन्यो । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट स्वदेशी तथा विदेशी पर्यटकहरुले भव्य रुपमा नयाँ वर्षको स्वागत गरे ।

नयाँ वर्षको आगमनसँगै पोखराका प्रमुख पर्यटकीय स्थलहरुमा पर्यटक भरिभराउ छन् । फेवाताल, बेगनास सहित विभिन्न मन्दिर र गुफाहरुमा पर्यटकको घुँइचो रहेको छ ।

नयाँ वर्षको स्वागतका लागि लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको थियो । होटल संघ पोखराको आयोजनामा भइरहेको फेवा नव वर्ष महोत्सवका कारणले समेत यहाँका पर्यटकीय स्थलहरुमा पर्यटक आगमन बढाएको छ ।

आतिशबाजी सहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर सडकबाटै नयाँ वर्षलाई हर्सोल्लासका साथ स्वागत गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

नेपाली नयाँ वर्षलाई धुमधामका साथ मनाउने उद्देश्यले आयोजित महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएको उहाँले बताउनुभयो ।

नेपाली नयाँ वर्ष मनाउनका लागि लेकसाइडको साढे तीन किमी सडकमा नव वर्ष महोत्सव आयोजना गरिएको र महोत्सवमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटकले नयाँ वर्षलाई भव्य स्वागत गरेका छन् । अध्यक्ष सुवेदीले लेकसाइडका होटलहरुमा यतिबेला अकुपेन्सी ८० प्रतिशत पुगेको बताउनुभयो ।

नयाँ वर्षतथा विभिन्न विदाका कारण पनि पोखरा घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि भएको र भारतीय पर्यटकको आगमन पनि बढेकाले नयाँ वर्षमा पर्यटन व्यवसायमा चहलपहल बढेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

नयाँ वर्षको स्वागतका लागि राति अवेरसम्म पर्यटक लेकसाइडमा भरिभराउ थिए । लेकसाइडका सबै जसो प्रमुख चोकहरुमा पञ्चेबाजा, भजन, रत्यौली, कन्सर्ट तथा गीत संगीत प्रस्तुत गरिएको थियो ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकीका कार्यक्रम,लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्गय प्रहसन र पर्यटक दौड लगायत रहेका थिए ।

नयाँ वर्र्षसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलहरुमा समेत पर्यटक आगमन बढेको छ । पोखराका विन्ध्यवासिनी, तालबाराही, भद्रकाली लगायतका धार्मिकस्थलहरुमा विहानदेखीनै भक्तजनहरुको घुँइचो लागेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.