जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

मोरङ, इलाम, सिरहा, पाल्पा, धनुषा, दाङ र रौतहटमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । मोरङ, ग्रामथान गाउँपालिका-६ सोमबारे घिनाघाटस्थित सडकमा नेताचोकबाट झोराहाटतर्फ जाँदै गरेको को.२२ प ९९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-६ बस्ने ६० वर्षीय अनन्तराम खवासको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत दुई जनालाई थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर रिफर गरिएको छ । त्यस्तै इलाम, माई नगरपालिका-४ सुखानीस्थित सडकमा दानाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे.९ प ४५९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापा अर्जुनधारा नगरपालिका-६ बस्ने रोम पाठकको छोरा २ वर्षीय ओस्कर पाठकको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सिरहा, बरियारपट्टी गाउँपालिका-५ तेनुवापट्टीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । यता पाल्पा, बगनासकाली गाउँपालिका-१ रायडाँडास्थित सडकमा घोरबन्दाबाट बर्तुङतर्फ आउँदै गरेको लु.६१ प ७६३६ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा चालक तानसेन नगरपालिका-६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उता धनुषा, मिथिला नगरपालिका-६ बसीपुलस्थित सडकमा महेन्द्रनगरबाट ढल्केवरतर्फ आउँदै गरेको म.प्र ०२-००७ प ९६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक महोत्तरी लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा बस्ने ३२ वर्षीय श्रवन कुमार महत्तोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१६ स्थित सडकमा लु.प्र.०२-००१ प ०६९३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय सन्जिब चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी रौतहट, परोहा नगरपालिका-३ लौकाहा बजारस्थित सडकमा तेजापाकडबाट पोखरीयातर्फ जाँदै गरेको प्रदेश २-०३-०२० प ३७२० नम्बरको मोटरसाइकलको ठक्करबाट ठेला चालक सोही ठाउँ बस्ने ६० वर्षीय शेख गोनउरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.