नेपालका दुई सांसदले आईपीयूमा जिम्मेवारी पाउनु महत्त्वपूर्ण
विश्वभरका संसद्को सङ्गठन ‘अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)’ अन्तर्गतका समितिमा सांसद डाक्टर अञ्जान शाक्य र सोविता गौतम विजयी हुनु नेपालका लागि सुखद् विषय भएको बताइएको छ ।

आईपीयू को १५० औँ महासभाबाट नेतृत्व लिनुभएका सांसदहरू डा शाक्य र गौतमको स्वागत–सम्मान तथा संसदीय मामिलाका पत्रकारसँगको छलफलमा उहाँहरूको विजय नेपालको गौरवको विषय भएको भन्दै खुसी व्यक्त गरिएको हो ।
एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य आईपीयूको दिगो विकास समितिमा विजयी हुनुभएको थियो । माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै उज्ज्वेकिस्तानमा भएको सम्मेलनमा उहाँ नेपालबाट प्रतिनिधित्व गर्दै विजयी हुनुभएको थियो ।
एसिया–प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व भए पनि निर्वाचनमा भने १५ वटा देशको मात्रै प्रतिनिधित्व रहेको थियो । शाक्यलाई ६ मत प्राप्त भएको थियो भने माल्दिभ्सले ५ र इरानले ४ मत मात्रै प्राप्त गरेको थियो ।
मानवअधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायतका विषयमा विश्वका सांसदहरूलाई सशक्तिकरण गर्ने उद्देश्यसहित अघि बढिरहेको आईपीयू पहिलो पटक त्यो पनि निर्वाचनमार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई खुसी लागेको पनि शाक्यले बताउनुभयो ।
नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरेर आईपीयूको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई सभामुख देवराज घिमिरेले पत्र लेख्दै शाक्यलाई समर्थनका लागि आग्रह गर्नुभएको थियो ।
छलफलमा सभामुख घिमिरेले भन्नुभयो, “सङ्घीय संसद् सचिवालयको अन्तरराष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखाले गरेको विश्वास, पहल र प्रयासले पनि सफलतामा थप सहयोग प्राप्त भयो ।”
आइपियूको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालका तर्फबाट सांसद गौतम निर्वाचित हुनुभएको छ । उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । सांसद गौतमले नौ सदस्यीय टोलीमा दुई जना महिला रहेको र दुवै जनाले जिम्मेवारी प्राप्त गर्नु खुसीको कुरा भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्