नेपाली सेनाको पदयात्रा टोलीलाई पाल्पामा स्वागत
नेपाली सेनाको पदयात्रा टोली पाल्पा आइपुगेको छ । मंगलबार यहाँ आएको टोलीलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।

तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै यहाँ पुगेको हो । टोलीले गत चैत २८ गते गोरखाबाट पदयात्रा सुरू गरेको थियो । पदयात्रामा रहेको टोलीले पाल्पामा तैनाथ फौजलाई पाल्पा र स्याङ्जाको सिमानामा पर्ने केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ ।
स्याङ्जा चापाकोट नगरपालिका–६ का वडाध्यक्ष तारादेवी पोखरेलले पाल्पा रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण गर्नुभयो । यहाँ आएको टोलीलाई नगरप्रमुख थापा, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलगायतले स्वागत गर्नुभयो ।
पाल्पास्थित नेपाली सेनाको गणको टोलीले जिल्लाका गढी तथा किल्लासम्मको यात्रा गर्नेछ । गोरखाबाट सुरू भएको पदयात्रा रुपन्देहीको जितगढी किल्ला पुगेर विजयोत्सवका रूपमा सहभागी भएर समापन हुने जनाइएको छ । नेपाल आक्रमणमा आएको अङ्ग्रेज सेनालाई पराजित गरेको दिनको सम्झना गर्दै हरेक वर्ष वैशाख ७ गते जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ ।
प्रतिक्रिया राख्नुहोस्