चीनले अमेरिकासंग सम्झौता गर्नुपर्ने ट्रम्पको भनाई, चीनद्वारा व्यापारदूत नियुक्त
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकासंग सम्झौता गर्नुपर्ने बताउँदै व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि ‘बल अब चीनको हातमा रहेको’ बताउनुभएको छ ।

अमेरिकाको १४५ प्रतिशत कर वृद्धिपछि चीनले मंगलबार बोइङ जहाज तत्काल नभित्र्याउन कम्पनीहरुलाई निर्देशन दिएपछि राष्ट्रपति ट्रम्पले चीन बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै सो कुरा बताउनुभएको हो ।
ट्रम्पकाले प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा भनिएको छ, “बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन ।”
“चीन र अन्य कुनै पनि देशबीच कुनै भिन्नता छैन, फरक यत्ति हा भूगोलका हिसाबले कुनै ठूलो छ र कुनै सानो छ,” उहाँले भन्नुभयो ।
ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठूलो सम्झौताबाट चीनपछि हटेको बताएपछि लिभिटको यो टिप्पणी आएको हो ।
ब्लुमबर्गको एक समाचार रिपोर्टपछि बेइजिङले एयरलाइन्सहरूलाई बोइङ कम्पनीका जेटहरूको थप डेलिभरी नलिन आदेश दिएको थियो ।
यसबीच अमेरिकासंग तनाव व्यवस्थापनमा पहल गर्न भन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले बुधबार नयाँ व्यापार दूत नियुक्त गरेको जनाएको छ ।
बेइजिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि र वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नुहुनेछ ।
यसअघि विश्व व्यापार संगठनका लागि बेइजिङका राजदूत र स्विट्जरल्याण्डको जेनेभामा संयुक्त राष्ट्रसंघका लागि उपस्थायी प्रतिनिधिका रुपमा काम गरिसकेका ५८ वर्षीय लीलाई कुशल कुटनीतिज्ञका रूपमा हेर्ने गरिएको छ ।
उहाँले चीनको पेकिङ विश्वविद्यालय र जर्मनीको युनिभर्सिटी अफ ह्याम्बर्गबाट कानूनमा डिग्री हासिल गर्नुभएको छ । उहाँलाई वाङ शौवेनको उत्तराधिकारीका रूपमा जिम्मेवारी तोकिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वाङले सन् २०२० मा चीन र अमेरिकाबीच व्यापार सम्झौता गर्ने वार्तामा भाग लिनुभएको थियो । ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै बेइजिङ र वासिङ्टनबीच करबारे चर्काचर्कीको खेल सुरु भएको छ ।
प्रतिशोधका कारण चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशत पुगेको छ भने अमेरिकी सामानमा बेइजिङको कर १२५ प्रतिशत पुगेको छ । चीनले आफ्नो अर्थतन्त्र पहिलो त्रैमासिकमा ५।४ प्रतिशतले वृद्धि भएको बुधबार बताएको छ, जुन अपेक्षाभन्दा माथि भएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्