साकुरा सिजनमा जापान भित्रिए ३५ लाख विदेशी पर्यटक
जापानको प्रमुख पर्यकीय याम मानिने मार्च महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकको कीर्तिमानी वृद्धि भएको छ । मार्च महिनामा ३५ लाख विदेशी पर्यटकले जापान भ्रमण गरेका छन् ।
साकुरा सिजनलाई जापानीहरुले राम्रो समयको आगमनका रुपमा लिने गर्दछन् । यही समयमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । यस वर्ष विगतको तुलनामा बाह्य पर्यटकको आगमन १३.५ प्रतिशतले बढेको छ ।
जापान पर्यटन एजेन्सीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार, जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिमा विदेशी पर्यटकहरूले अन्दाजी १६ अर्ब अमेरिकी डलर खर्च गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २८.४ प्रतिशतले वृद्धि हो ।
यस वर्षको सुरुवातमा जापानमा सबैभन्दा बढी दक्षिण कोरियाका पर्यटक आएका छन् । मार्च महिनामा छ लाख ९१ हजार सातसय कोरियन पर्यटकको आगमन भयो भने यसपछि चीनबाट छ लाख ६१ हजार सातसय पर्यटक आएका छन् ।
मार्च महिनामा चीनबाट जापान आउने पर्यटकको संख्या अघिल्ले वर्षको तुलनामा झण्डै दोब्बर वृद्धि भएको छ । चीनबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ४६.२ प्रतिशतले बढेको छ ।

जापानी संचारसंस्था एनएचकेका अनुसार यो वर्षको पहिलो त्रैमासिकमा कुल एक करोड पाँचलाख विदेशी पर्यटकले जापान भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.१ प्रतिशतले बढी हो ।
जापानको पर्यटन क्षेत्रले महामारीपछिको पुनरुत्थानलाई तीव्र गतिमा अगाडि बढाइरहेको देखिन्छ, जुन देशको अर्थतन्त्रका लागि समेत सकारात्मक संकेत मानिएको छ ।





प्रतिक्रिया राख्नुहोस्