जताततै पाइने तितेपातीबाट बन्यो स्यानिटाइजर- कालाबजारियाहरुको सातो गयो
गाउँघर, पाखा पखेरामा जताततै पाइने तितेपातीमा औषधीय तत्व प्रचूर मात्रामा हुन्छ । काटेको ठाउँबाट रगत बग्न तत्काल रोक्ने क्षमता भएको तितेपाती गाउँघरमा तरकारी तथा अन्नबालीमा लागेको किरा मार्न प्रयोग गरिन्छ ।
अहिले कोरोना संक्रमणको त्रास बढिरहेका बेला यसबाट बच्न प्रयोग हुने स्यानिटाइजर पनि तितेपातीबाट बनेको छ । मुलुकमा स्यानिटाइजरको अभाव भैरहेका बेला कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवनले तितेपातीको तेल मिसाएर स्यानिटाइजर उत्पादन गरेको छ ।
हुन त यो पहिलो प्रयोग भने हैन- नेपालमा आयुर्वेदिक औषधि बनाउन तितेपातीको प्रयोग हुँदै आएको छ । त्यस्तै विश्वभर तितेपातीको औषधिले अनेक रोग निको हुने प्रमाणित भैसकेको छ ।
नेपालमा जताततै पाइने तितेपातीबाट मलेरिया निकोपार्ने औषधि बन्ने तथ्य पत्ता लागिसकेको छ । चीनले तितेपातीमा भएको लामो अनुसन्धानपछि परम्परागत औषधिबाट मलेरिया निको पार्न सकिने खोजमा सफलता पाइसकेको छ । जसका कारण सन् २०१५ को फिजियोलोजी अर्थात् औषधितर्फको नोबेल पुरस्कार चीनले प्राप्त गर्यो ।
चाइनिज एकेडमी अफ मेडिकल साइन्सका वैज्ञानिक युयुटुको नेतृत्वका अनुसन्धानकर्मीले सन् १९६५ देखि गरेको अध्ययनको प्रतिफलका रूपमा त्यो खोज सम्पन्न भएको थियो ।
यस्तो तथ्यकाबीच कृषि तथा वनविज्ञान विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लीसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रण रहेको विश्वविद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिनुभएको छ ।
तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग हो । सो स्यानिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार पारिएको सापकोटाको दावी छ । केन्द्रले पहिलो चरणमा १८० लिटर स्यानिटाइजर उत्पादन गरेको र २० एमएलको बोतलमा प्याकिङ गरेको छ ।
किसान र उपभोक्ताबीच कृषि उपज उत्पादन तथा उपभोगका क्रममा हुने सक्ने कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्ने उद्देश्यले सो स्यानिटाइजर सोमबार नारायणगढमा ठेलामा तरकारी बेच्नेहरुलाई वितरण गरिएको छ ।
त्यसो त नेपालमा तितेपातीको तेल बनाउने चलन पहिलेदेखि नै हो र यसको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू औँल्याउँछन् । नेपालमा परम्परागत रूपमा तितेपातीको उपयोग र बढी प्रयोग भइरहेको छ । आध्निक अनुसन्धान छैन ।
प्रतिक्रिया राख्नुहोस्