कर्पोरेट/पर्यटन

गद्दी बैठक खोलेपछि बढे विदेशी आगन्तुक

शाहवंशीय राजतन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक इतिहास झस्काउने गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ ।

गत चैत १५ गते गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि बिहिबार नेपालका लागि फ्रेञ्च राजदूत जिलेज बोरबाओले अवलोकन भ्रमण गर्नुभएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

उहाँले ग्यालरी, नासलचोक, तस्बिर प्रदर्शनी कक्ष, गहना प्रदर्शनी कक्षलगायत मठ, मन्दिरको अवलोकन गर्नुभएको कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

एक साताअघि नेपालका लागि चिनियाँ राजदूतले पनि हनुमानढोका दरबार क्षेत्रको भ्रमण गर्नुभएको उहाँले सुनाउनुभयो । चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण टोलीमा आउनुभएका वाणिज्य तथा आपूर्ति मन्त्रीले पनि यस क्षेत्रको भ्रमण गरेसँगै धेरै विदेशी पर्यटकको लर्को यहाँ लाग्न थालेको छ ।

चैत महिनामा एक हजार ३६ विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका थिए । यसबाट कार्यालयले रु तीन लाख १० हजार ८०० टिकट बिक्रीबाट शुल्क उठाएको जनाइएको छ । यस अवधिमा १२ हजार ६० जना स्वदेशीले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

हनुमानढोका दरबार क्षेत्रमा स्वदेशीका लागि रु ३०, विद्यार्थीका लागि रु १५ र विदेशीका लागि रु ३०० शुल्क तोकिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.