कर्पोरेट/पर्यटन

उडेको केहीबेरमै फ्लाई दुबइको जहाजमा आगलागी

उद्धारका सबै तयारी गरिएको भए पनि पाइलटले विमान काठमाडौंमा अवतरण गर्न चाहेनन्

सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजको एउटा इन्जिनमा आगलागी भएको छ । जहाजको इन्जिनमा समस्या हुँदा काठमाडौंको आकाशमा ठूलो आवाजसहित आगो देखिएको थियो ।

उक्त जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो । उडेको केहीबेरमै एउटा इन्जिनमा आगो लागेपछि जहाजको आकस्मिक अवतरण हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै तयारी गरिएको थियो ।

काठमाडौंमा सबै तयारी गरिए पनि विमानका चालकले नेपाली आकाशमै रहेका बखत गन्तव्यमै पुग्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण नगर्ने उडान जारी राख्ने जानकारी दिएको बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् ।

विमानस्थलका एक अधिकारीका पाइलटले दुबई उडान गर्ने जोखिम नलिन सक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजता हुने भएकाले विमान भारतमा अवतरण गर्नसक्छन् ।

उता नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अनुसार इन्जिनमा समस्या भएको जहाज दुर्घटनाबाट जोगिएको बताउँदै अर्को इन्जिनले काम गरेपछि अहिले जहाज गन्तव्यतर्फ गएको जानकारी दिनुभएको छ ।

प्रवक्ता निरौलाले भन्नुभयो, ‘‘उड्ने बित्तिकै इन्जिनमा समस्या देखिएको हो । अहिले सामान्य अवस्थामा फ्लाइ दुबईको जहाज गन्तव्यतर्फ गइसकेको छ ।’’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.