राजनीति

हिजो चटके मान्ने रास्वपालाई आज डा. भट्टराईले वैकल्पिक शक्ति मानेपछि

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि अब पुराना राजनीति दलहरुको जिम्मेवारी सकियो र पार्टीहरुले नयाँ भूमिकामा जानुपर्छ भन्दै माओवादी छाड्नुभयो ।

उहाँले नयाँ शक्ति पार्टी स्थापना गर्नुभयो तर, त्यसमा सफल हुन नसकेपछि मधेशवादी दलहरुसंग एकीकरण गर्नुभयो । ठूलो दलको नेताको हैसियत छाडेर सानो दलको नेता बने पनि उहाँ मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको उदय हुनुपर्नेमा अझै पनि कटिबद्ध हुनुहुन्छ ।

गत मंसिर ४ गते भएको आम निर्वाचनमा नयाँ र वैकल्पिक शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको दमदार उपस्थिति भयो । पार्टी स्थापनाको ६ महिनामै २० सिट जितेर राष्ट्रिय पार्टी बन्यो ।

सो पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चको फैसलापछि उहाँको सांसद पद रिक्त भयो र वैशाख १० गते त्यहाँ उपनिर्वाचन भयो । उपनिर्वाचनमा लामिछानेले मंसिरमा पाएकोभन्दा ५ हजार बढी मत पाउनुभयो ।

यति मात्र होइन राष्ट्र्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा पनि सोही पार्टीले विजयी झण्डा गाड्यो । सो क्षेत्रमा उम्मेदवारी मनोनयनको केही दिन अघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका डा. स्वर्णिम वाग्ले ठूलो मतान्तरले विजयी हुनुभयो ।

चितवन र बारामा रास्वपाको घण्टी बज्यो, रास्वपालाई पानीको फोका, वर्षायामको खहरे भन्ने सत्ता गठबन्धनका नेताहरु हरु तिलमिलाएका छन् ।

निर्वाचन आचारसंहिता मिचेर मन्त्री दिने आश्वासन सहित भाषण गरे । तर, जनतामा परिवर्तनको चाहना यसरी गढेको पाइयो कि साधारण मतदातादेखि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका कार्यकर्ता समेतले रास्वपालाई मत दिए ।

उपनिर्वाचनपछि रास्वपाको विजयलाई आत्मसात गरेजस्तो देखाउन डा. भट्टराईले सकारात्मक माने पनि निर्वाचनमा सत्ता गठबन्धनमा सामेल उहाँले चुनाव प्रचारका क्रममा भने वैकल्पिक शक्ति अस्वीकार गर्दै फेसबुके, ट्वीटे, चटके भन्दै मत नदिन आव्हान भने गर्नुभएकै हो ।

सत्ता गठबन्धनका शीर्ष नेताले केही नबोलेको र प्रमुख विपक्षी दलका नेताहरुले घुमाउरो अझै पनि हामीहरु नै सबथोक हौं भन्ने शैलीको अभिव्यक्ति दिइरहँदा डा. भट्टराईले ढिलै भए पनि सकारात्मक रुपमा लिएको र आफ्नो अभियानको एउटा कडी भएको स्वीकार्नुलाई अन्यथा मान्नु पर्दैन ।

बुधबार विहान ट्वीट गर्दै डा भट्टराईले लेख्नुभएको छ- “एक दशकदेखि देशमा नयाॅ शक्ति/वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका नयाॅ पार्टीहरूको उदय सकारात्मक ठान्दछु ! सबैले एकअर्काका अनुभवबाट सिकौं । देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाॅ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं !”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.