डेढ महिनामा एक सय तीन घरगोठ जले
अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा जलेका छन् । वैशाख महिनामा मात्र जिल्लाभर ३१ स्थानमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत चैत एक गतेदेखि वैशाख १२ गतेसम्म जिल्लाभर एक सय तीन घरगोठ जलेका जानकारी दिनुभयो ।
उहाँका अनुसार वन क्षेत्रमा लागेको आगोको लप्का बस्तीमा फैैलिएपछि ४२ घर पूर्ण र एक घरमा आंशिक क्षति भएको छ । अहिले आगलागी पीडित परिवार खुला आकाशमा बस्न बाध्य छन् ।
त्यसै गरी ५८ गोठ पूर्ण र दुई गोठमा आंशिक क्षति भएको, ५३ पशुचौपाया मरेका र १९ पशुचौपाया घाइते भएका, डढेलोमा एउटा मोटरसाइकल र दुईवटा साइकल पनि जलेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।
त्यस्तै, चालु आर्थिक वर्षमा जिल्लाका एक सय १३ स्थानका दुई हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लागेका डिभिजन वन कार्यालयका वन अधिकृत यादव सापकोटाले बताउनुभयो । वन क्षेत्रमा घाटगद्दी गरिएका पाँच सय ८३ क्युफिट काठ जलेर नष्ट भएका उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्