न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन
कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न शुक्रबार न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा न्यूयोर्कस्थित महावाणिज्य दूतावासले एशिया–प्यासेफिक ट्राभल एसोसिएसन, न्यूयोर्क च्याप्टर र ‘नेपाल–द वन्डरल्याण्ड अफ नेचुरल, कल्चरल र स्पिरिचुअल ब्यूट’ सँगको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, योग, ध्यान र आध्यात्मले भरिपूर्ण नेपालको पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावनायुक्त देश भएको बताउँदै नेपालको पर्यटन र अन्य व्यवसाय सामान्य अवस्थामा फर्किएकाले अतिथिहरूलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय विशेषता र आकर्षण, कोभिड–१९ महामारीको समयमा पर्यटकलाई नेपालले दिएको सेवा, हालै थपिएका पर्यटन पूर्वाधार, सुविधा र नेपालले अपनाएका नयाँ यात्रा सहजीकरणका उपायबारे आमन्त्रित पाहुना तथा विमान चालक, ट्राभल र टुर व्यवसायी समुदायलाई नेपाल भ्रमण गर्न र नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा राख्न आग्रह गरिएको वाणिज्य दुतावासले जनाएको छ ।
कार्यक्रमका अतिथि तथा वक्तामा धेरैजसो नेपाल घुमेका रहेका र उनीहरूले नेपालमा भएको आफ्नो अविस्मरणीय यात्राअनुभव सुनाएका थिए ।
सन् १९७४ देखि १४ पटक नेपाल भ्रमण गरेका लेखक डा सेठ सिक्रोफ, सर एडमन्ड हिलारी मेडल प्रोजेक्टका प्रमुख कार्यकारी अधिकृत, ब्रिटिश–अमेरिकी पर्वतारोही, सगरमाथा आरोहणकर्ता, पृथ्वीको सबैभन्दा अग्लो र गहिरो बिन्दुमा पुग्ने पहिलो महिलासहितको उपस्थितिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्