सिन्धुपाल्चोकमा प्रहरी उपरीक्षकसहित २६ जनामा कोरोना सङ्क्रमण पुष्टि
कोभिड–१९ सङ्क्रमणबाट सिन्धुपाल्चोकमा प्रहरी उपरीक्षकसहित २६ जनामा कोरोना संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीसहित २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित व्यक्तिहरू धेरैजसो कर्मचारी भएकाले उनीहरू होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीहरू पनि सङ्क्रमित भएपछि कोभिड र इमरजेन्सीबाहेक चौतारा अस्पतालका अन्य सेवाहरू आजबाट बन्द गरिएको छ ।
दोस्रो लहरको कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । त्यस्तै, हिजो बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले चौतारा, बाह्रविसे, खाडीचौर, जलबिरे, मेलम्ची लगायतका प्रमुख बजारका पसलहरू बिहान १० देखि बन्द गर्नाका साथै जिल्ला प्रवेश गर्ने नाकामा हेल्थ डेस्क (स्वास्थ्य जाँच केन्द्र) राख्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य मापदण्ड अपनाउनाका साथै अत्यावश्यक कामबाहेक अनावश्यक रूपमा हिँड्डुल नगर्नसमेत सर्वसाधारणलाई अपिल गरेको छ ।
शनिबार मात्रै चौतारा सागाचोकगढी नगरपालिका–४ कुभिण्डेका ३८ वर्षीय पुरुषको शनिबार बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।
कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि योसँगै जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । यसअघि सुनकोशी गाउँपालिकाअन्तर्गत खाडीचौरस्थित सिन्धु विकास बैंकमा कार्यरत एक कर्मचारीको केही दिनअघि भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्