अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द
सरकारले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेसंगै अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।
यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । त्यसै गरी बैठकले बिहिबार वैशाख २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।
सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनसँगै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । यसबीचमा उडान सुचारु गर्ने विषयमा गठन गरिएको समितिले सन् २०२० को जुनसम्म अन्तर्राष्ट्रिय उडान चालु हुने अवस्थामा नरहेको दिएको थियो
मंगलबार नेपालको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा परेको असर र यस क्षेत्रको पुनरुत्थानका लागि सुझाव दिन गठित समितिले सो सुझाव सरकारलाई दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालीन सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले यस्तो सुझाव दिएको हो। समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी सदस्य हुनुहुन्थ्यो
यसैगरी सुझाव प्रतिवेदनमा हवाई तथा पर्यटन क्षेत्र पुनरुत्थानका लागि २० अर्बको कोष स्थापना गर्नुपर्ने भनिएको छ । उक्त कोषबाट निश्चित सर्तभित्र रही सहुलियत दरमा पुनरुत्थान ऋण दिने र जसमा १० अर्ब एयरलाइन्सलाई दिनुपर्ने उल्लेख छ ।
समितिले दिएको प्रतिवेदनमा भनिएको छ, ‘कोरोनाको प्रभावका कारण २२ मार्च २०२० पछि अन्तर्राष्ट्रिय हवाई उडानमा उडान प्रतिबन्ध लगाइएको छ। तत्पश्चात विदेशी पर्यटक आगमनको संख्या शून्यमा झरेको छ। सन् २०२० को अप्रिल ३० सम्म आन्तरिक तथा बाह्य उडानमा प्रतिबन्ध लागेको अवस्था कायमै छ। तर, अन्तर्राष्ट्रियस्तरमा पनि जुन २०२० अघि बाह्य उडान चालु हुने अवस्था देखिएको छैन।’
आन्तरिक तथा बाह्य उडानमा लागेको प्रतिबन्धका कारण नेपाल वायुसेवा कम्पनीहरुको १ खर्ब लगानीसमेत जोखिमा छ। त्यस्तै आन्तरिक उडान गर्ने एयरलाइन्सले महिनामा ४ अर्ब गुमाइरहेको उल्लेख गरिएको छ ।
हाल नेपालमा ९ फिक्स्ड विङ तर्फका एयरलाइन्स छन् भने ९ वटा हेलिकोप्टर कम्पनी छन् । ९ एयरलाइन्ससँग ५३ जहाज छन् । त्यस्तै ९ हेलिकोप्टर कम्पनीसँग ३२ हेलिकोप्टर छन् । त्यस्तै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडान गर्ने वाइडबडी जहाज २ र ६ न्यारोबडी जहाज छन्। यसबाहेक नेपालमा विदेशी २७ वटा एयरलाइन्स कम्पनीले उडान गर्दै आएका थिए। अहिले सबै उडान बन्द छ ।
प्रतिक्रिया राख्नुहोस्