पोखरामा छुवाछुत विवादले लियो उग्ररुप- प्रदेश सांसदको विवादित विज्ञप्ति
मुलुकको संविधानले विभेदरहित समाजको परिकल्पना गरे पनि समाजमा जातीय विभेद र छुवाछुत कायम छ । यस्तो विभेद दुर्गम गाउँघरमा मात्र हैन शहरी क्षेत्रमा पनि रहेको र यसलाई राजनीतिक रंग दिएर फाइदा उठाउनेहरु सक्रय नै रहेको पोखराको घटनाले देखाएको छ ।
घटना विवरण अनुसार चैत्र २३ गते पोखरा १६ चण्डीटोलका सम्मरबहादुर सुनारको दुबईमा न्युमोनियाका कारण निधन भयो । लकडाउन भएकाले उनको शव नेपाल ल्याउने अवस्था थिएन । उनका भाइ र माइला छोरा दुबईमै थिए र उतै दाहसंस्कार गरे । सम्मरका जेठा छोरा फ्रान्समा छन् भने श्रीमती, कान्छा छोरा र दाइ नेपालमै छन् ।
सम्मरका दाइ, श्रीमती र कान्छा छोरा पोखराको चण्डीटोलस्थित घरमै किरिया बस्न लागे । किरिया बस्नका लागि चण्डीटोलमा किरियापुत्री भवन बनेको थियो । पोखरा महानगर, वडा कार्यालय, स्थानीयलगायतको लगानीमा सार्वजनिक जग्गामा उक्त भवन बनेको थियो ।
सोही भवनमा किरिया बस्न सम्मरका दाइ मोहन सुनारले किरियापुत्री भवनको चाबी मागे । चैत २६ गते चाबी माग्दा समाजका मानिसहरूले चाबी दिएनन् । किरियापुत्री भवनको चाबी नपाएपछि सम्मरका श्रीमती, छोरा र दाइ घरमै किरिया बसे ।
घरदेखि ५ मिनेटको बाटोमा रहेको किरियापुत्री भवन नदिएपछि आधा घन्टाको बाटो हिँडेर कालीखोला गए । त्यहीं नुहाए, खाना बनाए र खाए । किरियापुत्री भवनमा खाना बनाउने, नुहाउनेलगायतका सुविधा राखिएको थियो। उनीहरू दिनभरि भवनमा बस्ने र बास बस्न घर जाने बताएका थिए ।
भवन नपाएपछि खोलामै दिन बिताए । साँझ घरमा बास बसे । १३ दिनको किरिया सकिएपछि समाजले केही मिलाउला भनेर मोहन कुरेर बसे । किरियापुत्री भवनमा बस्न नदिएकोबारे कसैले केही कुरा गरेनन् । स्थानीय जनक थापा वैशाख १४ गते घर अगाडि बाटोमा आए, मोहनले चलाएको मोटरसाइकल रोकेर गाली गरे । त्यसपछि उनले वैशाख १८ गते जातीय छुवाछुत र भेदभाव कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिए ।
प्रहरीले निवेदनउपर छानबिन थाल्यो । किटानी जाहेरी भएकालाई पक्राउ गर्न जिल्ला अदालतबाट आदेश लिएर प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको थियो । पीडित पक्षले प्रहरीले आफूहरूको निवेदन उपर छानबिन नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि आए । उनीहरूलाई कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले सम्झाएर पठाए ।
वैशाख २३ गते उजुरीमा उल्लेखित रामबहादुर जिसी र जनक थापालाई प्रहरीले पक्राउ गर्यो । मोहनले उजुरीमा अर्को व्यक्ति देवबहादुर थापा समेत गरी ३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । तर थापा पक्राउ परेनन् । उनको उमेर बढी भएकाले पक्राउ नगरेको बताइएको छ ।
उजुरीमा उल्लेखित २ जना पक्राउ परेपछि वैशाख २४ गते पीडक पक्षले प्रदर्शन गरे । पक्राउ परेका जिसी र थापालाई जिल्ला अदालतमा म्याद थप गर्न निकालिँदै थियो । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षबाट प्रहरीको गाडीमा राखेर निकाल्दा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरे ।
प्रहरी कार्यालयअगाडि नै केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । पीडक पक्षले ढुंगामुढा गरेपछि झडप भएको प्रहरीले बताएको छ । झडपमा प्रहरीले पनि लाठीचार्ज गरेको थियो ।
घटनापश्चात बुधबार नै नेकपा कास्कीका अध्यक्ष एवं प्रदेश सभा सांसद कृष्ण थापाले विज्ञप्ति निकाल्दै केही उच्छृंखल तत्वहरूले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने, जातिवादी नेता, कार्यकर्ताहरूको षडयन्त्रले सदियौंदेखि भइरहेको सामाजिक सद्भावलाई धमिल्याउने काम भएको र छुवाछुतको आरोपमा पक्राउ परेकालाई षडयन्त्रपूर्वक पक्राउ गरेको आरोप लगाउनुभो ।
जनताको करबाट बनेको किरियापुत्री भवन दलितकै नाममा उपलब्ध नगराउनु आफैंमा गम्भीर अपराध त हो नै यसैको नाममा छुवाछुत गर्नेलाई बचाउन प्रहरी कार्यालयमै हुलदंगा गर्नु अर्को दण्डनीय अपराध हो । पोखरा जस्तो शिक्षित र सभ्य नागरिक बस्ने शहरमा घटेको यो घटना आफैंमा विडम्बनापूर्ण त छ नै यसलाई राजनीतिक रंग दिएर लाभ लिन खोज्नेहरुको नियत अरु निन्दनीय मानिएको छ ।
प्रतिक्रिया राख्नुहोस्