जन सरोकार

अब ‘गधा’ गालीको हैन सम्मानको समय

दुर्गम पहाडी क्षेत्रमा यातायातको प्रमुख साधन भनेकै घोडा, खच्चर तथा गधा हो । तर गधालाई घोडा र खच्चरसंग समान रुपमा हेरिंदैन । गधालाई अल्छी जनावर ठान्दै मानिसलाई गाली गर्ने शब्दका रुपमा प्रयोग गरिन्छ ।

यसबीचमा गधाबाट काम पनि लिन तर गालीका विम्बका रुपमा पनि प्रयोग गरिरहने प्रथाका अन्त्यका लागि यही मे ८ तारिखका दिन गधा दिवस मनाउन लागिएको छ ।

एनिमल नेपाल संस्थाले मे ८ (आज) लाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको हो ।

सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पु(याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने उद्देश्यले यस वर्षदेखि सप्ताहव्यापी गधा दिवस मनाउन लागेको जनाएको छ ।

तराईदेखि हिमालसम्म विशेषगरी सामान ढुवानीका लागि प्रयोग गरिने यस्ता जनावरलाई सकुन्जेल काम गराउने र काम गर्न नसक्ने भएपछि छाडा छाड्ने प्रवृत्तिले ती जनावरको वंशविनाश हुनेसम्मको समस्या पर्ने गरेको बताइएको छ ।

हाल नेपालमा गधा, खच्चर र घोडा एक लाख ५० हजारभन्दा बढीको सङ्ख्यामा ढुवानी व्यवसायका लागि प्रयोगमा रहेको सो संस्थाले जनाएको छ । सो संस्थाले ललितपुर जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत डुकुछापमा समस्यामा परेका, घाइते, बूढा भइसकेका खच्चर, गधा तथा घोडाको स्याहार केन्द्र स्थापना गरेको छ ।

विशेष गरी काठमाडौँ उपत्यकाका इँटा उद्योगमा काम गराउन भित्रिएका गधा, खच्चर तथा घोडा अशक्त, वृद्ध तथा घाइते भएपछि सडकमा छाड्ने गरिएको छ । समस्यामा परेका त्यस्ता जनावरलाई स्याहार केन्द्रमा लगेर पालन गर्ने गरिएका संस्थाका प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रमा पौष्टिक आहार प्रदान गर्ने तथा उपचार गर्ने गरिएको छ । हाल केन्द्रमा ५० भन्दा बढी समस्यामा परेका गधा, खच्चर र घोडा संरक्षण गरिँदै आएको छ ।

घोडा, खच्चर, गधा विशेषज्ञ डा. सजना थापाका अनुसार यी जनावरले काम गर्न सकुन्जेल काममा लगाउने र अशक्त, रोगी भएपछि जथाभावी छाड्ने प्रवृत्तिले ती जनावरको बाँच्न पाउने अधिकारको हनन हुने गरेको बताउनुभयो ।

उहाँले गधा दिवसका अवसरमा यी जनावरले पु(याएको योगदानबारे सचेतना जगाउने, यी जनावरबारे अध्ययन अनुसन्धान गर्न चाहने विश्वविद्यालयका प्राध्यापक, विद्यार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

नेपालबाहेक बेलायत, इजिप्ट, भारत, पाकिस्तानलगायतका अफ्रिकी मुलुकमा ढुवानीको साधनमा प्रयोग हुने यी जनावरको हक–अधिकारका लागि काम हुँदै आएको छ ।

बेलायतले त अन्य मुलुकमा समस्यामा परेका गधा, खच्चर तथा घोडालाई ल्याएर संरक्षण, हेरचाह गर्ने गरेको सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.