कोभिडबाट काठमाडौं र बाजुराका दुई वडाध्यक्षको निधन
नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड १९) का कारण काठमाडांको शङ्खरापुर नगरपालिका वडा नं. ४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । त्यस्तै बाजुराको बडीमालिका नगरपालिका ९ का वडाध्यक्ष विनोदकुमार विकको पनि निधन भएको छ ।
समाचार अनुसार वडाध्यक्ष तामाङलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा शनिबार दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिनुभयो ।
उहाँको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।
नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्रिचालीस वर्षीय तामाङ मधुमेह रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
साविकको लप्सेफेदी गाविसको वडा नं ३ निवासी तामाङ विसं २०७४ को निर्वाचनमा हालको शङ्खरापुर वडा नं ४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँ काँग्रेसको वडा सभापतिसमेत हुनुहुन्थ्यो ।
नगरपालिकामा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ८२ पुगेको छ । यसअघि पहिलो चरणमा १६९ जना सङ्क्रमित भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।
उता नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट बाजुराको बडीमालिका नगरपालिकाका ९ का वडाध्यक्ष विनोदकुमार विकको उपचारका क्रममा निधन भएको छ । हुनुहुन्छ । संक्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत ३५ वर्षीय विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्