३० गते साँझ ९ बजेभित्र बहुमतको सरकार बनाउन राष्ट्रपतिको आव्हान
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई वैशाख ३० गते बिहिबार साँझ ९ बजेसमम दुई वा सोभन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आव्हान भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्न नसकेको व्यहोरासहितको पत्र संसद सचिवालयबाट शितल निवास पुगेपछि उहाँले बहुमतको सरकार बनाउनन आव्हान गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गर्नुभएको हो ।
यसअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
सरकार बनाउन बहुमत पुगने उनीहरुको दाबी छ । २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३६ सांसद चाहिन्छ । नयाँ सरकार गठनको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्