काठमाडौँमा टिप्परको ठक्करबाट मृत्यु
काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेसी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।
उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता ललितपुर महानगरपालिका–२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन ती तले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मङ्गलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रमा पाटन अस्तपालमा मृत्यु भएको हो ।
त्यस्तै इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाँचथर याङ्रुप गाउँपालिका– ४ घर भई इलाम नगरपालिका– ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन् । मे १ प ६५४४ नं को मोटरसाइकलले ना ४ ख ५६६९ नं को ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटसाइकल चालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।
घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्